काठमाडौँ: जापानी अटोमोबाइल निर्माता कम्पनी यामाहाले दुई पाङ्ग्रे सवारी साधनको सुरक्षामा नयाँ इतिहास रचेको छ। यामाहाले विश्वकै पहिलो एयरब्याग जडित स्कुटर ट्रिसिटी ३०० सार्वजनिक गरेको हो।
तीन वटा पाङ्ग्रा भएको यो स्कुटरलाई कम्पनीले थप सुरक्षित र सन्तुलित बनाउन एयरब्याग प्रविधि समावेश गरेको हो। अटोलाइभ सँगको सहकार्यमा विकास गरिएको यो एयरब्याग प्रविधि स्कुटर जगतमै पहिलो पटक प्रयोगमा ल्याइएको हो।
यामाहा ट्रिसिटी ३०० को अगाडिको भाग (एप्रोन) मा एयरब्याग राखिएको छ। यसमा जडान गरिएका अत्याधुनिक सेन्सरहरूले स्कुटर कतै ठोक्किएको खण्डमा तुरुन्तै प्रभाव पत्ता लगाउँछन्। दुर्घटनाको अवस्थामा एयरब्याग तुरुन्तै खुल्छ, जसले गर्दा चालक अगाडि हुत्तिएर गम्भीर चोट लाग्नबाट जोगिन्छन्।
कारमा एयरब्यागले सिटबेल्टसँग मिलेर काम गर्छ भने स्कुटरमा यसलाई चालकलाई अगाडि फालिनबाट रोक्न र गति कम गर्न विशेष रूपमा डिजाइन गरिएको छ। कम्पनीले यसको विभिन्न चरणमा परीक्षण र सिमुलेसन गरिसकेको जनाएको छ। ग्राहकले एयरब्याग भएको वा नभएको भेरियन्ट रोज्न पाउने सुविधा पनि दिइएको छ।
यसअघि होन्डा गोल्ड विङ जस्ता महँगा मोटरसाइकलमा एयरब्याग देखिए पनि स्कुटरमा यो पहिलो व्यावसायिक प्रयोग हो।
२०२६ मोडल: नयाँ डिजाइन र प्रविधि
यामाहाले ट्रिसिटी ३०० को २०२६ मोडललाई थप आकर्षक र स्पोर्टी लुक दिएको छ। यसमा नयाँ एलइडी लाइट सेटअप, परिमार्जित फ्रन्ट बडी प्यानल र नयाँ स्टाइलको टेल ल्याम्प जडान गरिएको छ। यो स्कुटर मिल्की ह्वाइट, जेन ग्रीन र पावर ग्रे गरी तीन नयाँ रङमा उपलब्ध हुनेछ।
सुरक्षाका लागि यसमा ब्रेक कन्ट्रोल सिस्टम थपिएको छ, जसले आईएमयू डाटाको आधारमा ब्रेकिङ फोर्सलाई सन्तुलित बनाउँछ। साथै, युनिफाइड ब्रेकिङ सिस्टम ले अगाडि र पछाडिको चक्कामा स्वतः ब्रेकको सन्तुलन मिलाउँछ। चिप्लो बाटोमा चिप्लिनबाट जोगाउन यसमा ट्र्याक्सन कन्ट्रोल को सुविधा पनि छ।
नयाँ ट्रिसिटी ३०० मा ४.२ इन्चको कलर टीएफटी डिस्प्ले र २.८ इन्चको एलसीडी स्क्रिन दिइएको छ। यसमा गार्मिन नेभिगेसन इन-बिल्ट छ भने यामाहाको माई राइड एपमार्फत स्मार्टफोन कनेक्ट गरी कल र म्युजिक अलर्टहरू हेर्न सकिन्छ।
अन्य सुविधाहरूमा किलेस स्टार्ट चाबी बिना नै स्कुटर स्टार्ट गर्न सकिने, स्ट्यान्डिङ असिस्ट सिस्टम ट्राफिकमा रोकिँदा वा कम गतिमा गुड्दा स्कुटरलाई सिधा उभिन मद्दत गर्ने, लिनिङ मल्टी-ह्वील मोडहरूमा दुवै अगाडिका पाङ्ग्राहरू सँगै झुक्ने प्रविधि, जसले सडकमा राम्रो पकड दिनेलगायत रहेका छन्। पर्याप्त स्टोरेज स्पेस, पार्किङ ब्रेक र १४ इन्चका टायर रहेको छ।
यो स्कुटरमा २९२ सीसीको इन्जिन जडान गरिएको छ, जसले २८ पीएस पावर र २८.९ एनएम टर्क पैदा गर्छ। यसमा भी-बेल्ट अटोमेटिक गियरबक्स छ। कम्पनीका अनुसार यसले प्रति लिटर ३०.३ किलोमिटर माइलेज दिन्छ। वातावरण मैत्री बनाउन यसमा नयाँ क्याटालिटिक कन्भर्टर थपिएको छ, जसले पछिल्लो उत्सर्जन मापदण्डहरू पूरा गर्दछ।
सुरक्षा र अत्याधुनिक प्रविधिको खोजीमा रहेका सहरी राइडरहरूका लागि यामाहाको यो नयाँ स्कुटर एक उत्कृष्ट विकल्प बन्ने देखिएको छ।


