काठमाडौँ: पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का हिरासतमै रहने भएका छन्। उनको पक्राउ गैरकानुनी रहेको भन्दै श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सकिए पनि बुधबार सर्वोच्चले अन्तरिम आदेश दिएन।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले बन्दी रिटमा अन्य आदेशअन्तर्गत फाइल मगाउने आदेश जारी गरेको छ। सर्वोच्चले राजस्व अनुसन्धान विभागको नाममा बिहीबार दिउँसो १२ बजेभित्र अनुसन्धानको फाइल पठाउन र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ।
खड्कालाई गत चैत १५ गते सम्पत्ति शुद्धीकरण विभागको पत्रमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। विभागले अनुसन्धान प्रतिवेदन आन्तरिक राजस्वा अनुसन्धान विभागमा पठाएकोमा विभागले त्यो फाइल राजस्व अनुसन्धान विभागमा पठाएको छ।
पछिल्लो पटक राजस्व अनुसन्धान विभागले सोमबार तीन दिन हिरासतमा राख्नेगरी म्याद लिएको थियो। उक्त म्याद आज सकिँदै छ। भोलिदेखि हिरासतमा राख्न थप म्याद लिनुपर्ने छ भने भोलि नै सर्वोच्चमा खड्का पक्राउ विरुद्धको रिटको पेसी पनि तोकिएको छ।
सर्वोच्चले बुधबार जारी गरेको आदेशमा भनिएको छ, ‘म्याद थपका लागि राजस्व अनुसन्धान विभागले गरेको अनुरोध र अदालतले म्याद दिँदाका सम्पूर्ण कागजातसहितको मिसिल तथा ललितपुर अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चा समेत संलग्न गरी २०८३ वैसाख ३ गते १२ बजेभित्रमा प्राप्त हुने गरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट निज निवेदकलाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ समेत झिकाइ प्रस्तुत रिट निवेदन २०८३ वैसाख ३ गतेका लागि नियमानुसार पेशी तोक्नू।’


