वर्तमान विश्व सूचना प्रविधिको तीव्र विकासले प्रभावित छ, र नेपाल पनि यस परिवर्तनबाट अलग छैन। इन्टरनेटको पहुँच विस्तार, स्मार्टफोनको सहज उपलब्धता र सामाजिक सञ्जालको बढ्दो प्रयोगले नेपाली समाजमा मात्र होइन, राजनीतिक संरचना र प्रक्रियामा समेत गहिरो प्रभाव पारेको छ। यस सन्दर्भमा डिजिटल साक्षरता र सामाजिक सञ्जालले नेपालको वर्तमान राजनीतिमा पारेको प्रभावलाई बहुआयामिक रूपमा विश्लेषण गर्न आवश्यक देखिन्छ।
सबैभन्दा पहिले, डिजिटल साक्षरताको अर्थ केवल प्रविधि चलाउन जान्नु मात्र होइन, तर सूचना बुझ्ने, विश्लेषण गर्ने र त्यसको जिम्मेवार प्रयोग गर्ने क्षमतासँग सम्बन्धित हुन्छ। जब नागरिकहरू डिजिटल रूपमा साक्षर हुन्छन्, उनीहरूले राजनीतिक सूचना, नीति, र नेतृत्वसम्बन्धी विषयमा सचेत निर्णय लिन सक्षम हुन्छन्। नेपालमा पछिल्लो दशकमा युवापुस्तामा डिजिटल साक्षरताको स्तर उल्लेखनीय रूपमा वृद्धि भएको छ, जसले राजनीतिमा नयाँ चेतना र सहभागिता ल्याएको छ।
सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्विटर, टिकटक आदि प्लेटफर्महरूले राजनीतिक विचार आदानप्रदानको प्रमुख माध्यमको रूपमा स्थान बनाएका छन्। यी माध्यमहरू मार्फत राजनीतिक दल, नेताहरू र नागरिकबीच प्रत्यक्ष संवाद सम्भव भएको छ। यसले पारदर्शिता र उत्तरदायित्वलाई बढावा दिएको छ। उदाहरणका लागि, कुनै सरकारी निर्णय वा नीतिको विरोध वा समर्थन सामाजिक सञ्जालमार्फत छिटो फैलिन्छ, जसले सरकारलाई जनताको भावना बुझ्न बाध्य बनाउँछ।
तर यसको अर्को पाटो पनि छ। डिजिटल साक्षरताको अभावमा सामाजिक सञ्जाल गलत सूचना ९ाबपभ लभधक०, अफवाह र भ्रम फैलाउने माध्यम पनि बन्न सक्छ। नेपालमा धेरै पटक यस्ता घटनाहरू देखिएका छन्, जहाँ अपुष्ट सूचना भाइरल भएर सामाजिक तनाव सिर्जना भएको छ। यसले राजनीतिक अस्थिरता बढाउन र जनविश्वास घटाउन योगदान पुर्याउँछ। त्यसैले, डिजिटल साक्षरताको अभिवृद्धि अत्यन्त आवश्यक छ, जसले नागरिकलाई सही र गलत सूचनाबीच भिन्नता छुट्याउन सक्षम बनाउँछ।
अर्कोतर्फ, सामाजिक सञ्जालले युवापुस्तालाई राजनीतिमा आकर्षित गरेको छ। पहिले राजनीतिमा सक्रियता देखाउन सडक आन्दोलन वा प्रत्यक्ष सहभागिता आवश्यक थियो भने अहिले अनलाइन अभियान, ह्यासट्याग ट्रेन्ड, र डिजिटल बहसहरूले पनि प्रभाव पार्न थालेका छन्। यसले लोकतान्त्रिक प्रक्रियालाई थप समावेशी बनाएको छ। ग्रामीण क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार भएसँगै, पहिले आवाज नपुगेका वर्गहरू पनि अब आफ्ना धारणा सार्वजनिक गर्न सक्षम भएका छन्।
सामाजिक रूपमा हेर्दा, डिजिटल साक्षरता र सामाजिक सञ्जालले विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभ्यासलाई सशक्त बनाएको छ। मानिसहरूले आफ्ना अनुभव, समस्या र अपेक्षा खुलेर राख्न थालेका छन्। यसले समाजमा जागरूकता बढाएको छ, तर कहिलेकाहीँ घृणा भाषण, ट्रोलिङ, र विभाजनकारी विचारहरू पनि फैलिने जोखिम बढाएको छ। यस्तो अवस्थामा जिम्मेवार डिजिटल व्यवहार अत्यन्त आवश्यक हुन्छ।
नेपालको वर्तमान राजनीतिमा सामाजिक सञ्जाल एक शक्तिशाली उपकरण बनेको छ—चाहे त्यो चुनाव प्रचार होस्, जनमत निर्माण होस्, वा सरकारप्रतिको आलोचना। तर, यसको सकारात्मक प्रभावलाई स्थायी बनाउन डिजिटल साक्षरता अनिवार्य सर्त हो। शिक्षण संस्थाहरू, सरकार र सामाजिक संघसंस्थाहरूले मिलेर डिजिटल शिक्षा विस्तार गर्नुपर्छ, ताकि नागरिकहरू सचेत र जिम्मेवार डिजिटल प्रयोगकर्ता बन्न सकून्।
अन्ततः, डिजिटल साक्षरता र सामाजिक सञ्जालले नेपालको राजनीतिमा परिवर्तनको नयाँ ढोका खोलेका छन्। यसले लोकतन्त्रलाई बलियो बनाउने सम्भावना बोकेको छ, तर त्यसका लागि सही प्रयोग र सचेत नागरिकताको आवश्यकता अनिवार्य छ। यदि हामीले यस अवसरलाई सदुपयोग गर्न सक्यौं भने, नेपालको राजनीतिक भविष्य अझ पारदर्शी, समावेशी र उत्तरदायी बन्नेछ।
(सिक्कीम प्रोफेसनल विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका लेखक पौडेल हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन संयुक्त क्यापसमा समाजशास्त्र विषय प्राध्यापन गर्छन्।)


