काठमाडौँ: धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५) मा विभिन्न व्यवसायीले अर्बौँ रूपैयाँ लिनदिन बाँकी रहेको पाइएको छ। नेपाल धितोपत्र बोर्डले दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदनअनुसार केही ठूला लगानीकर्ता र संस्थाबाट ब्रोकरले अर्बौं रुपैयाँ लिन बाँकी छ। ब्रोकरले रकम उठाउन बाँकी रहेका लगानीकर्ताहरूमध्ये सबैभन्दा धेरै व्यवसायी दीपक भट्टको नाममा छ।
उनले दुई अर्ब ७३ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, मदिरा व्यवसायी तथा जावलाखेल ग्रुप अफ कम्पनीजका अध्यष राजबहादुर शाहबाट ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा, सुभी अग्रवालबाट ६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ ७० पैसा ऋषिराज मोरबाट २३ करोड १ लाख ३१ हजार ९०२ रुपैयाँ ७० पैसा र हिमालय इन्भेष्टमेन्ट बैंकर लिमिटेडको २२ लाख २६ हजार ३५२ रुपैयाँ १७ पैसा बक्यौता ब्रोकरले उठाउन बाँकी छ। राजबहादुर शाह पछिल्लो वर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने करदातको रुपमा सम्मानित हुँदै आएका छन्।
अर्कोतर्फ, ब्रोकर आफैँले पनि विभिन्न संस्था र व्यवसायीलाई ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्था छ। रोचक कुरा के छ भने, दीपक भट्टबाट लिनुपर्ने जति नै रकम ब्रोकरले हिमालयन रि–इन्स्योरेन्सलाई दिन बाँकी देखाइएको छ। साथै रोहित गुप्ता र शेखर गोल्छालाई पनि कुल एक अर्ब पाँच करोड रुपैयाँ तिर्न बाँकी छ।
संस्थागततर्फ हिमालयन क्यापसर्भ लिमिटेडलाई ३७ करोड, एचएलआई लार्ज क्याप फण्डलाई २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ ८६ पैसा, हिमालयन सेक्युरिटिज बैंकरलाई २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ ८ पैसा र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ ८८ पैसा भुक्तानी दिन बाँकी रहेको विवरणमा उल्लेख छ ।
यो प्रकरणमा उधारो कारोबारबाट नै सेयर किनबेच गरेको देखाइएको छ। नेपालको कानुनअनुसार यस्तो गतिविधि ‘झुठो कारोबार’ र ‘बजार म्यानिपुलेसन’ अन्तर्गत पर्छ, जसले बजारमा कृत्रिम माग सिर्जना गरेर लगानीकर्तालाई भ्रमित पार्न सक्छ।
बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा तयार पारिएको यो प्रतिवेदनले दोषी देखिएका दीपक भट्ट र ब्रोकर सञ्चालकहरूलाई ऐनको दफा १०१ बमोजिम कैद र जरिवाना सहितको कारबाही गर्न र थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण विभागमा पठाउन सुझाव दिएको छ।
धितोपत्र बोर्डले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई गत चैतमा नै ३ महिनाका लागि निलम्बन गरेको छ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेको रकम नदिएर सोही रकमले विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर किनिदिएको, नियामक निकायको निर्देशन पालना नगरको, विद्यमान कानुन विपरीत काम गरेको लगायत आरोपमा बोर्डले उक्त कम्पनीलाई निलम्बन गरेको हो।


