काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सहायक संस्था उत्तरगंगा पावर कम्पनी लिमिटेडमार्फत ८२८ मेगावाटको उत्तरगंगा जलासय जलविद्युत आयोजना बनाउने भएको छ।
आयोजनाबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न कम्पनीले विद्युत विकास विभागमा दरखास्त दिएको छ। विभागले पनि आयोजनाको लाइसेन्स कम्पनीलाई दिन प्रक्रिया अघि बढाएको छ।
३५ दिनपछि कम्पनीले विद्युत उत्पादन लाइसेन्स पाउने भएको छ।लामो समयदेखि चर्चामा रहेको आयोजना अघि बढ्ने संभावना देखिएको छ।
कम्पनीले गरेको संभाव्यत अध्ययनअनुसार आयोजनाबाट वार्षिक एक अर्ब ३० करोड युनिट विद्युत ऊर्जा उत्पादन हुनेछ। आयोजनाबाट २०९२ मा बिजुली उत्पादनको प्रस्ताव विकासकर्ता कम्पनी उत्तरगंगा पावरले गरेको छ। आयोजना बनाउन एक खर्ब ३० अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
विसं २०६१ देखि चर्चामा रहेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ।
लामो समयसम्म निर्माण प्रक्रिया अघि नबढ्दा यो परियोजना स्थानीय स्तरमा चुनावी एजेन्डामा मात्रै सीमित भएको भन्दै जनगुनासोसमेत बढ्दै गएको अवस्थामा विद्युत प्राधिकरणले अघि बढाउन लागेको हो।
आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापनको जटिल काम अझै बाँकी छ। आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन र बाँकी निर्माणको काम पनि भइसकेको छ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ तथा ढोरपाटन शिकार आरक्षमा अवस्थित उत्तरगंगा नदीको पानीलाई पथान्तरण गरी बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ र ५ मा ल्याई बिजुली उत्पादनको प्रस्ताव गरिएको छ।
जलासय आयोजना हिउँदको समयमा पूर्ण क्षमतामा बिजुली उत्पादन हुनेछ। यसको डिजाइन बहाब प्रतिसेकेन्ड ७८.०६ घनमिटर हुनेछ भने कुल हेड १३ सय ५० मिटर रहनेछ। यो हालसम्मकै उच्च हेड भएको जलविद्युत आयोजना हो।
आयोजनाको जलाशयसहित सम्पूर्ण संरचनाहरू ढोरपाटन नगरपालिका वडा नम्बर ९ तथा ढोरपाटन शिकार आरक्षमा अवस्थित उत्तरगंगा नदीको बायाँ किनार पट्टि र निसीखोला गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेको निसी खोलाको बायाँ किनार पट्टि रहने भएको छ।
विद्युत उत्पादनका लागि आयोजनाले उत्तरगंगा नदीको पानी प्रयोग गर्नेछ। उत्तरगंगा नदीमा ८४० मिटर लम्बाइ क्रेस लेन्थ र नदीको सामान्य बेड सतहबाट २०० मिटर उचाइको रक फिल बाँध निर्माण गरी १४ किलोमिटर लम्बाइ र १२.१७ वर्ग किलोमिटर क्षेत्रफलको जलाशय तयार निर्माण हुने भएको छ। जसको उपयोगी भण्डारण क्षमता ४१ करोड ९९ लाख ८ हजार घनमिटर हुनेछ। जलाशयको आयु ५० वर्षको हुनेछ ।
आयोजनाको दुईटा भूमिगत विद्युतगृह बन्नेछ। पहिलो विद्युतगृहमा १०९.५ मेगावाटका चारवटा भर्टिकल साफ्ट पेल्र्टन टर्बाइनमा पानी खसाली ४२० मेगावाट विद्युत उत्पादन हुनेछ।
त्यसैगरी पहिलो विद्युत गृहबाट निस्केको पानीलाई ३५० मिटर लम्बाई र ७ मिटर व्यास भएको रिटेन्सन पुलमा पुर्याइ १०६.५ मेगावाटका चारवटा भर्टिकल साफ्ट पेल्र्टन टर्बाइमा पानी खसाली ४०८ मेगावाट विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ। पहिलो विद्युतगृह समुद्री सतहबाट २२ सय मिटर र दोश्रो १५ सय ३७ मिटर उचाइमा हुनेछ।
विद्युत उत्पादनपछि पहिलो विद्युतगृहबाट आकस्मिक अवस्थामा डिजाइन बहावको पानीलाई ढुङगे साङ्गो खोला हुँदै निसी खोलामा पठाइने प्रबन्ध मिलाइने भएको छ।
सामान्य अवस्थामा पहिलो विद्युतगृहबाट निस्केको पानीलाई दोश्रो विद्युतगृह हुँदै २३ सय ३४ मिटर लम्बाइ र ६ मिटर भित्री व्यासको टेलरेस सुरुङमार्फत निसी खोलामा पठाइनेछ।
बाँध क्याम्प क्षेत्रका लागि पहुँच मार्गको लम्बाइ १६.१८ किलोमिटर हुनेछ। विद्युतगृहहरू र अडिटका लागि पहुँच मार्गको लम्बाइ २५.१३ किलोमिटरको हुने भएको छ।
आयोजनाबाट उत्पादित बिजुलीलाई विद्युतगृह १ को स्विचयार्डबाट १.२५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युतगृह २ को स्विचयार्डमा जोडी तहाँबाट १.५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन हुँदै प्रस्तावित विद्युत प्राधिकरणको ४०० केभी निसी सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने योजना रहेको कम्पनीले जनाएको छ।
इआईए प्रतिवेदनअनुसार उत्तरगंगा नदीमा बाह्रै महिना निरन्तर प्रतिसेकेन्ड ३.५२ घनमिटर पानी छाडने प्रस्ताव गरिएको छ।


