ताप्लेजुङ। तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ।
शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्लेजुङ) र पाँचथरको हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने उक्त पुल बाढीले बगाएको हो।
आठ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुलको हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको थियो।
एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको अवस्थामा ट्रस संरचना र निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बाढीले बगाएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी र्दिए।
गाउँपालिकाको टोलीले उक्त ठाउँमा पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। एमएस सपना याक्थुङ जेभी निर्माण कम्पनीले २०७४ सालमा २२ करोड पाँच लाख ७७ हजार रुपैयाँमा पुल निर्माणको सम्झौता गरेर काम गरिरहेको थियो।


