बागलुङ। सरकारले बहुप्रतिक्षित बागलुङको उत्तरगङ्गा जलाशययुक्त परियोजनासहित पाँच वटा जलविद्युत् आयोजनालाई ठेक्कामा लैजाने भएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ल्याएको बजेट वक्तव्यमा सरकारले बागलुङको उत्तरगङ्गा जलाशययुक्त ८२८ मेगावाट परियोजना ठेक्कामा लैजाने उल्लेख गरेको हो।
बजेटमा मुलुकको सस्तो नमूना जलविद्युत् आयोजनाका रूपमा चर्चा कमाएको ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनासहित पाँच वटा ठूला जलविद्युत् आयोजनाको बजेट व्यवस्थापनसहित ठेक्कामा लैजाने बताए।
सरकारले ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त आयोजनासहित एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुरसेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्ने जनाएको छ।
४१७ मेगावाटको नलगाड, ४९० मेगावाटको अरुण–४ र २८१ मेगावाटको नौमुरै आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने अर्थमन्त्रीले बता्ए।
उत्तरगंगा जलासय बनाउन प्राधिकरणले दियो दरखास्त, सवा खर्ब लाग्ने, १० वर्षमा सक्ने लक्ष्य
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानीमा ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने अर्थमन्त्री वाग्लेले जानकारी दिए।
उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भइसकेको छ। दुई दशकदेखि चर्चामा रहेको आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले २०८० सालमा स्वीकृत गरेको हो।
बागलुङमा निर्माण अघि बढेको आयोजना विसं २०६१ देखि चर्चामा रहेको छ यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक उत्तरगङ्गा हाइड्रोपावर कम्पनी लिमिटेडले अघि बढाउँदै आएको थियो।
निर्माण सुरु भएको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य लिइएको आयोजनामा ढोरपाटन उपत्यकामा उत्तरगङ्गाको पानी जम्मा गरेर निसीखोलामा झारेर बाह्र्रैमास विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको थियो। ढोरपाटनको उत्तरगङ्गा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनबाट निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ।
आयोजनामा आठ हजार ५१० मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ भने एक हजार ८७५ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ। आयोजनामा दुई वटा भूमिगत विद्युत्गृह निर्माण हुनेछन्। पहिलो विद्युत् गृहमा १०५ मेगावाट क्षमताका चार वटा युनिट रहने छन् भने दोस्रो विद्युतगृह १०१ मेगावाट क्षमताका चार वटा युनिट निर्माण हुनेछन्।


