काठमाडौं। म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो।
आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युतगृह निर्माणस्थलबाट गरि चार ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिए।
“पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण हुनेछ”, उहाँले भने, “विद्युतगृह र बाँध निर्माणस्थलमा सिभिल निर्माण व्यवसायी साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ।”
मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युतगृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहले बताए।
‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाको एक किलोमिटर ‘पेनस्टक’ पाइपलाइन रहनेछ। विद्युतगृहदेखि ‘आउटलेट’को उचाइ ४८० मिटर रहेको छ। प्रर्वद्धक कम्पनी, ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन तयार हुने अन्तिम चरणमा पुगेको छ।
कालिगण्डकी गर्ज आयोजनामा लगानी गर्न ग्रिन भेन्चर्सले हकप्रद शेयरबाट साढे तीन अर्ब जुटाउने
आठ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ। आयोजना स्थलमा पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भएको छ। घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराइने भएको छ।
साढे ३९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए। आयोजनामा बैंकको ऋण ७५ र स्वपुँजी (इक्विटी) २५ प्रतिशत हुने गरी लगानी संरचना बनाइएको छ।
जसअनुसार लक्ष्मीले बैंकले ९ अर्ब, ग्लोबल आइएमई बैकले ९ अर्ब, सिद्धार्थ बैंकले ५ अर्ब, हिमालयन बैंक र नेपाल एसबिआई बैकले ३ ३ अर्ब र एभरेष्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
बाँकी लगानी स्वपुँजी संस्थापक लगानीकर्ता त्रिवेणी, विशाल र प्रधान समूहबाट जुटाइने भएको छ। आयोजनामा त्रिवेणी र विशाल ग्रुपको ५१, व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको २५ प्रतिशत स्वामित्व हुने गरि लगानी संरचना बनाइएको छ । बाँकी लगानी साधारण सेयर (आईपीओ) जारी गरेर जुटाउने योजना रहेको ग्रीन भेन्चर्सले जनाएको छ।
स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर लगानीको व्यवस्था मिलाइएको उनले बताए। अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवद्र्धक कम्पनी, निर्माण कम्पनी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गरेर आयोजना निर्माणको शुभारम्भ गरिएको थियो।
१६२ मेगावाटका पाँच आयोजना निर्माण
वडाध्यक्ष फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजना भएको बताए। उनका अनुसार नारच्याङ भएर बग्ने नदीहरूमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन्।
पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि– १, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन्।
नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ। नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ।
त्रिवेणी, विशाल ग्रुप र प्रधानको लगानी
दुई व्यवसायिक घरना विशाल ग्रुप र त्रिवेणी ग्रुपले जलविद्युतमा आक्रामक भएर लगानी विस्तार गर्न थालेका छन्। त्रिवेणी ग्रुप, विशाल ग्रुप र हाइडो सलुसन समूहको लगानी रहेको छ।
यसअघि त्रिवेणी र विशाल ग्रुपको संयुक्त लगानीमा ५२.४ मेगावाटको लिखु चार केही वर्षअघि नै र भर्खरै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना सञ्चालनमा आएको छ।
हाइडो सलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानसँगको साझेदारीमा १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज अर्धजलासय जलविद्युत आयोजना बनाउन सुरु गरेको हो।
विशाल र त्रिवेणी ग्रुपले कालिगण्डकी गर्जको ५१ प्रतिशत स्वामित्व खरिद गरेर आयोजनामा प्रवेश गरेका छन्।
ग्रुपहरुले ग्रीन भेन्चर्स लिमिटेडमार्फत आयोजनाको बहुमत स्वामित्व खरिद गरेका हुन्। ग्रीन भेन्चर्सले ५२.२ मेगावाटको लिखु चार आयोजना सञ्चालन गरिरहेको छ। ग्रीन भेन्चर्स र कालीगण्डकी गर्ज हाइड्रोपावरबीच मंगलबार ५१ प्रतिशत संस्थापक सेयरहरु खरिद सम्झौता भइसकेको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाबाट विद्युत उत्पादन गर्न कालिगण्डकी गर्ज हाइड्रोपावरलाई अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) दिइसकेको छ।
आयोजनाको अध्यक्षमा सुभासचन्द्र संघाइ, अनुज अग्रवाल र ज्ञानेन्द्रलाल प्रधान सञ्चालक रहेका छन।
अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। वर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने विकासकर्ता कम्पनीले जनाएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ। नेपाल विद्युत प्राधिकरणले अर्धजलाशय आयोजनालाई बेग्लै पीपीए दर निर्धारण गरेको छ। जसअनुसार बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ, पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ र पिकिङ नहुने अवधिका लागि ८.४० रुपैयाँ पीपीएदर तोकेको छ।
विद्युत प्राधिकरणलाई बिजुली बेचेर कम्पनीले वार्षिक सात अर्ब रुपैयाँ आम्दानी गर्नेछ। आयोजनाबाट १७ प्रतिशत प्रतिफल प्राप्त हुनेछ। राम्रो प्रतिफल देखिएकाले आयोजना वित्तीय रुपमा आकर्षक भएको छ।
आयोजनाले आउदो २०८६ असारदेखि बिजुली उत्पादन थाल्ने लक्ष्य लिएको छ। अर्धजलासय आयोजना छ घण्टा पिकिङ हुने गरी डिजाइन गरिएको छ। विद्युतगृहमा ६० मेगावाट क्षमताका तीनवटा टवाईन जडान गरिने भएको छ। सुरुङको लम्बाइ ५ किलोमिटर रहेको छ भने हेड ५ सय मिटर रहेको छ।
आयोजनाले प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने छ। सुक्खायाममा आयोजनाको पिकिङ अवधि दैनिक ६ घण्टा हुने छ। आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्ने छ।
ग्रिन भेन्चर्सले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत ग्रिन भेन्चर्स लिमिटेडले कालिगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्न शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजनामा लगानी गर्न तीन अर्ब ४३ करोड ७५ लाख रुपैयाँ बराबरको तीन करोड ४३ लाख ७५ हजार कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।हकप्रद शेयर जारीपछि ग्रिन भेन्चर्सको चुक्ता पुँजी बढेर छ अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ।


