काठमाडौँ: ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता भीपी इम्पेक्सले आफ्नो नयाँ विद्युतीय एसयूभी ओरा फाइभ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले दुई संस्करणमा ओरा फाइभ ल्याएको हो।
फाइनान्स सुविधासहित खरिद गर्न ओरा फाइभको इन्ट्री भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। फाइनान्समार्फत खरिद गर्दा ग्राहकले गाडीको मूल्यको ४० प्रतिशत रकम अग्रिम बुझाउनुपर्नेछ। यसअनुसार करिब १८ लाख ७९ हजार रुपैयाँ डाउन पेमेन्ट गरेपछि बाँकी रकम कर्जामार्फत व्यवस्थापन गर्न सकिन्छ।
हाल बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराइरहेको करिब ६ प्रतिशत ब्याजदरलाई आधार मान्दा बाँकी रकम सात वर्षको अवधिमा तिर्ने गरी मासिक करिब ४१ हजार २०० रुपैयाँ हाराहारी किस्ता पर्ने देखिन्छ।
त्यस्तै, ओरा फाइभको टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सोही वित्तीय सर्तमा यो संस्करण खरिद गर्दा मासिक किस्ता झण्डै ४५ हजार ६०० रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
ओरा फाइभ परम्परागत एसयूभीभन्दा फरक शैलीमा तयार गरिएको विद्युतीय गाडी हो। क्लासिक र आधुनिक डिजाइनको संयोजन देखिने यसमा गोलाकार हेडलाइट, सफा बडी प्रोफाइल तथा आकर्षक बाह्य बनावट दिइएको छ। विभिन्न रंग विकल्पमा उपलब्ध हुने यो गाडी सडकमा छुट्टै पहिचान बनाउन सक्षम देखिन्छ।
४,४७१ मिलिमिटर लम्बाइ र २,७२० मिलिमिटर ह्वीलबेस भएको यो एसयूभीले पर्याप्त आन्तरिक स्थान प्रदान गर्छ। २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले उकालो–ओरालो तथा असमतल सडकमा समेत सहज रूपमा चलाउन सकिने अपेक्षा गरिएको छ।
ओरा फाइभमा जडान गरिएको विद्युतीय मोटरले १०० किलोवाट शक्ति तथा २६० न्युटन मिटर टर्क उत्पादन गर्छ। यसमा ५८.३ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गरेपछि गाडीले ४३५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
गाडीको भित्री भागलाई आधुनिक प्रविधि र आरामलाई ध्यानमा राखेर तयार गरिएको छ। डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले, ठूलो आकारको टचस्क्रिन, स्मार्ट इन्फोटेन्मेन्ट प्रणाली, वायरलेस फोन चार्जर तथा प्यानोरामिक ग्लास रूफ जस्ता सुविधा समावेश छन्। प्रिमियम फिनिसिङले क्याबिनलाई अझ आकर्षक बनाएको छ।
ओरा फाइभमा ७ वटा एयरब्याग, ९ स्पीकरयुक्त अडियो सिस्टम, भेन्टिलेटेड सिट, वेलकम सिट फङ्सन, स्पेयर ह्विल तथा लुकेको रियर वाइपर जस्ता सुविधाहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ।


