काठमाडौँ: होटल व्यवसायमा ख्यातप्राप्त व्यावसायिक घराना सरार्फ ग्रुपले जलविद्युत क्षेत्रमा पनि आक्रामक विस्तार थालेको छ। ग्रुपको लगानीमा निर्माण भइरहेको १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माण तीव्र गतिमा भइरहेको छ। हालसम्म आयोजनाको काम ६० प्रतिशत सकिएको विकासकर्ता कम्पनी ब्लू इनर्जी लिमिटेडका सञ्चालक निरञ्जन रेग्मीले बताए।
अझै ४० प्रतिशत काम बाँकी रहेको छ। यस्तै, सिभिल निर्माण ७० प्रतिशत पुगेको छ। आयोजनाबाट आउँदो १६ महिनामा (सन् २०२७ को अक्टोबरमा) बिजुली उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए।
आयोजना बनाउन १६ अर्ब २४ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २० लाख रुपैयाँ पुग्ने अनुमान छ। लागतको हिसाबले सुपर त्रिशूली सस्तो आयोजना हो।
यो लागत निर्माण अवधिको ब्याज (आईडीसी) बाहेकको हो। कुल लगानीमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत सरार्फको स्वपुँजी (इक्विटी) लगानी रहेको छ।
आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को अगुवाइमा १२ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ। ऋण लगानीको सह-नेतृत्व कुमारी बैंक र ग्लोबल आईएमई बैंकले गरेका छन्।
आयोजनाको सिभिल निर्माण र हाइड्रोमेकानिकल जडानको जिम्मा सीई कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ। यस्तै, इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति र जडानको ठेक्का क्यानडाको जीई इनर्जीले गरिरहेको छ। सुपर त्रिशूलीको विस्तृत इन्जिनियरिङको तयारी एसएनभी ल्याभलिन क्यानडाले पारेको हो।
कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ। वर्षायामको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ।
आयोजनाबाट उत्पादित बिजुली १८.८ किलोमिटर २२० केभी प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको मार्खीचोक सबस्टेसनमा प्रसारण गर्ने प्रस्ताव गरिएको छ।
नदीको बहाव (रन अफ द रिभर) प्रकृतिमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ। आयोजनाबाट उत्पादन हुने ७० मेगावाट बिजुली कन्ट्र्याक्ट र ३० मेगावाट एडिसनल हुनेछ।
आयोजनाको बाँधसँगै विद्युतगृह हुने (ड्याम टो) प्रकृतिको हुनेछ। यस्तो संरचना हुने सुपर त्रिशूली नेपालको पहिलो जलविद्युत आयोजना हो।
आयोजनाको मूल संरचना खपत केन्द्र राजधानीबाट १०० किलोमिटर टाढा छ। आयोजनाको संरचना चितवनको दारेचोक र गोरखामा पर्छ। आयोजनाले लगानी जुटाउन सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
होटलबाट जलविद्युतमा लगानी विस्तार
सरार्फ ग्रुपले नेपाल र विदेशमा होटलमा ठूलो लगानी गरिरहेको छ। ग्रुपले राजधानीमा पाँचतारे ह्यात रिजेन्सी होटल र याक एन्ड यती होटल सञ्चालन गरिरहेको छ। होटलमा मात्र केन्द्रित रहेको ग्रुपले पछिल्लो समय आक्रामक रूपमा जलविद्युतमा लगानी बढाएको छ।
यसअघि आईसीटीसी ग्रुपसँगको साझेदारीमा २३.५ मेगावाट माथिल्लो सोलु जलविद्युत आयोजना निर्माण गरेको थियो। आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ।


