काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरूका लागि पदोन्नति सामान्यतः खुसीको विषय मानिन्छ।
तर, पछिल्ला वर्षहरूमा लागू गरिएको सरुवा अभ्यासका कारण विशेषगरी केही महिला कर्मचारीहरूका लागि बढुवा सँगै नयाँ जिम्मेवारी मात्र होइन, गम्भीर पारिवारिक र मानसिक चुनौती पनि थपिने गरेको गुनासो बढ्न थालेको छ।
संस्थाले कर्मचारीलाई विभिन्न कार्यालयमा काम गर्ने अवसर दिएर अनुभव विस्तार गर्ने उद्देश्य राखे पनि व्यवहारमा यसले केही कर्मचारीलाई पेसागत दायित्व र पारिवारिक जिम्मेवारीबीच कठिन छनोट गर्न बाध्य बनाएको उनीहरूको भनाइ छ।
राष्ट्र बैंकमा कार्यरत केही कर्मचारीका अनुसार विगतमा सरुवा प्रणाली अहिलेको जस्तो कडाइका साथ लागू हुने गर्दैनथ्यो। तर, तत्कालिन डेपुटी गभर्नर निलम ढुंगानाको कार्यकालमा बढुवापछि उपत्यकाबाहिर सरुवा हुने अभ्यासलाई थप व्यवस्थित र अनिवार्यजस्तै बनाइएको छ।
यसले पुरुष र महिला कर्मचारीबीच समान अवसर र समान जिम्मेवारी सुनिश्चित गर्ने उद्देश्य बोकेको भए पनि व्यवहारमा सबै कर्मचारीको पारिवारिक अवस्था एउटै नहुने भएकाले एउटै मापदण्डले सबैलाई न्याय गर्न नसकेको उनीहरूको तर्क छ।
एक महिला अधिकारी भन्छिन्, “विभिन्न प्रदेश र कार्यालयमा काम गर्दा अनुभव बढ्छ, नयाँ जिम्मेवारी सिक्ने अवसर पनि मिल्छ। संस्थागत विकासका लागि यो राम्रो पक्ष हो। तर, व्यवहारमा सबैको पारिवारिक अवस्था एउटै हुँदैन। त्यसैले केही अवस्थामा नीतिमा लचकता आवश्यक महसुस हुन्छ।”
नेपालको सामाजिक संरचनामा अहिले पनि घरपरिवारको हेरचाह, वृद्ध आमाबुबाको स्याहारसुसार तथा बालबालिकाको दैनिक जिम्मेवारी धेरैजसो महिलाकै काँधमा पर्ने अवस्था रहेको छ।
राष्ट्र बैंकका केही महिला कर्मचारीहरू पनि वृद्ध अभिभावकको एकमात्र सहारा बनेर बसेका छन्। कतिपयको परिवारमा बुबाआमा उच्च उमेरका छन् भने उनीहरू विभिन्न दीर्घरोगबाट समेत पीडित छन्।
यस्तो अवस्थामा डेढ वा दुई वर्षका लागि उपत्यकाबाहिर सरुवा हुँदा परिवारको दैनिक व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो चिन्ता हुने उनीहरू बताउँछन्।
राष्ट्र बैंककी एक कर्मचारीका अनुसार, “बुबाआमा वृद्ध हुनुहुन्छ। अस्पताल लैजाने, औषधि व्यवस्थापन गर्ने र दैनिक हेरचाह गर्ने अर्को सदस्य छैन।
यस्तो अवस्थामा लामो समयका लागि बाहिर जानुपर्दा जागिर र परिवारमध्ये एउटा रोज्नुपर्ने अवस्था आउँछ। हामी संस्थाको जिम्मेवारीबाट भाग्न खोजेका होइनौं। हाम्रो पारिवारिक वास्तविकतालाई पनि बुझिनुपर्छ।”
सरुवाको असर वृद्ध अभिभावकमा मात्र सीमित छैन। विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षामा समेत यसको प्रभाव पर्ने ति महिला कर्मचारीहरूको भनाइ छ।
विशेषगरी शैक्षिक सत्रको बीचमा विद्यालय परिवर्तन गर्न कठिन हुने, बालबालिकाको मानसिक अवस्थामाथि असर पर्ने तथा परिवारका सबै सदस्यलाई एकैपटक नयाँ ठाउँमा सार्न सम्भव नहुने अवस्था रहेको धेरैको अनुभव छ।
कतिपयले श्रीमान् वा श्रीमतीको कार्यस्थल, बालबालिकाको अध्ययन र वृद्ध अभिभावकको स्वास्थ्यका कारण परिवार छुट्टाछुट्टै बस्नुपर्ने अवस्था सिर्जना भएको पनि बताएका छन्।
कर्मचारीहरुका अनुसार आफ्नो समस्या व्यवस्थापनसमक्ष राख्दा “सबैलाई समस्या हुन्छ” भन्ने जवाफ सुनिन्छ। उनीहरू पनि सबै कर्मचारीलाई एउटै किसिमको छुट दिन सम्भव नहुने कुरा स्वीकार गर्छन्। व्यक्तिगत अवस्थालाई मूल्यांकन गरेर केही लचकता अपनाउन सकिने व्यवस्था भए समस्या धेरै हदसम्म समाधान हुने उनीहरूको विश्वास छ।
ती महिला अधिकारी भन्छिन्, “हामीलाई मात्र विशेष सुविधा चाहिएको होइन। सबैका लागि लागू हुने, तर विशेष परिस्थितिलाई पनि सम्बोधन गर्ने नीति आवश्यक छ। यदि कुनै कर्मचारी वृद्ध अभिभावकको एकमात्र सहारा हो वा गम्भीर पारिवारिक समस्यामा छ भने त्यस्ता अवस्थालाई पनि नीतिले सम्बोधन गर्नुपर्छ।”
उनका अनुसार आधुनिक संस्थाहरूमा कर्मचारीको कार्यसम्पादनसँगै ‘वर्क–लाइफ ब्यालेन्स’ लाई पनि महत्व दिइन्छ। कर्मचारी मानसिक रूपमा तनावग्रस्त हुँदा त्यसको प्रत्यक्ष असर कार्यक्षमता, निर्णय क्षमता र संस्थाको समग्र उत्पादकत्वमा पर्न सक्छ।
त्यसैले संस्थागत आवश्यकता र कर्मचारीको व्यक्तिगत अवस्थाबीच सन्तुलन कायम गर्ने नीति प्रभावकारी मानव संसाधन व्यवस्थापनको महत्वपूर्ण पक्ष मानिन्छ।
राष्ट्र बैंकको सरुवा नीतिको मूल उद्देश्य कर्मचारीलाई बहुआयामिक अनुभव दिलाउनु, नेतृत्व क्षमता विकास गर्नु र विभिन्न कार्यालयमा दक्ष जनशक्ति उपलब्ध गराउनु हो। यस उद्देश्यको महत्त्वलाई कर्मचारीहरूले पनि अस्वीकार गरेका छैनन्।
उनीहरूको मुख्य आग्रह भनेको नीतिको उद्देश्य कायम राख्दै विशेष परिस्थितिका कर्मचारीका लागि स्पष्ट, पारदर्शी र मानवीय व्यवस्था गरिनु आवश्यक रहेको हो।
ती कर्मचारीका अनुसार समानताको अर्थ सबैलाई एउटै व्यवहार गर्नु मात्र होइन, फरक परिस्थितिलाई पनि न्यायोचित रूपमा सम्बोधन गर्नु हो। त्यसैले संस्थागत हित, सेवा प्रवाह र कर्मचारीको पारिवारिक यथार्थबीच सन्तुलन मिल्ने गरी सरुवा नीतिको समयानुकूल समीक्षा गर्न सके यसले कर्मचारीको मनोबल बढाउनुका साथै संस्थाप्रतिको प्रतिबद्धता पनि अझ बलियो बनाउन सक्छ।
अन्ततः, नेपाल राष्ट्र बैंकजस्तो महत्वपूर्ण संस्थाले दक्ष र अनुभवी जनशक्ति निर्माण गर्ने उद्देश्यलाई निरन्तरता दिँदै कर्मचारीको पारिवारिक यथार्थलाई पनि संवेदनशील रूपमा सम्बोधन गर्न सके बढुवा अवसरको प्रतीक बन्ने देखिन्छ। संस्थागत विकास र मानवीय व्यवस्थापनबीच उचित सन्तुलन कायम गर्नु नै दीर्घकालीन रूपमा संस्था र कर्मचारी दुवैका लागि लाभदायी हुने देखिन्छ।


