काठमाडौँ: नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले नेपालको अटोमोबाइल उद्योगको वर्तमान अवस्था, औद्योगिक विकासका चुनौती र सम्भावनाबारे केन्द्रित उच्चस्तरीय ‘सीईओ फोरमस्: इन्जिनभन्दा पर, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक अन्तर्क्रिया सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती तथा विकासका सम्भावनाबारे युवा व्यवसायिक नेतृत्व, नीति विज्ञ र उद्योगीबीच छलफल गरिएको थियो। नेपालको कर्पोरेट र औद्योगिक ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउनुभएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा विस्तृत विमर्श गरिएको थियो।
छलफलका प्यानलिस्टमा सीजी होल्डिङ्ग्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा प्रतिनिधि) तथा सिमेक्स इंक प्रालिका सीईओ साहिल श्रेष्ठ (बीवाईडी प्रतिनिधि) रहेका थिए। कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गर्नुभएको थियो।
कार्यक्रमको सुरुवातमा सीएनआईवाइईएफकी नेटवर्क एन्ड कम्युनिकेशन सभापति साईनी खेतानले कार्यक्रमको रूपरेखा र उद्देश्य प्रस्तुत गर्नुभएको थियो। त्यसपछि प्यानलिस्ट तथा सहजकर्ताको परिचयात्मक प्रस्तुतिसँगै प्यानल छलफल सञ्चालन गरिएको थियो।
छलफलका क्रममा अटोमोबाइल क्षेत्रका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा तथा नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनका विषयमा विमर्श गरिएको थियो। त्यसैगरी, खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती तथा समग्र लगानीको वातावरणबारे प्यानलिस्टसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।


