काठमाडौँ: काठमाडौँमा साउन २६–३१ गते हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५३ ब्रान्डको सहभागितासहित ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा एक्सपो हुन लागेको हो।
आयोजकका अनुसार यस वर्ष एक्स्पो अझ ठूलो र व्यवस्थित हुनेछ। आगन्तुकका लागि सहज आवतजावत, पार्किङ, ५० प्रतिशतसम्म टिकट छुट, फुड कोर्ट तथा लर्निङ सेसनको व्यवस्था गरिएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक गौरव शारदाले गत वर्षको तुलनामा यसपटकको एक्स्पो अझ ठूलो, व्यवस्थित र प्रिमियम स्तरको प्रदर्शनी हुने बताए। वर्षाका कारण हुनसक्ने समस्या समेत समाधान गरिने उनको भनाइ छ। उनकाअनुसार नेपाल प्रहरी क्लब परिसरमा दिनभरि पार्किङ सुविधा उपलब्ध गराइनेछ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार एक्स्पोमा टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाइडी, हुण्डाई, टाटा, ग्रेट वाल मोटर्स, एमजी, जिकर, लिपमोटर, वुलिङ, जीकर, ओमोडा एण्ड जेकु, एमजी-गो अटोमोबाइल, सिट्रोन, डेन्जा, काइ, होन्री बोमा, बीएआइसी, आर्कफक्स, एमजी-पारामाउन्ट मोटर्स, आइकार, हेन्सरी भोल्ट्स, फोर्थिङलगायतका चारपाङ्ग्रे ब्रान्डहरू सहभागी हुनेछन्। यस्तै दुईपाङ्ग्रेतर्फ जाज, होण्डा, टीभीएस, केटीएम, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफ मोटो, सुजुकी, याडिया, निउ,प्यूजो र बगाउस,ट्रायम्फ, बरोयल इन्फिल्ड, एथर, जेएक्स मोटोलगायत प्रदर्शन हुनेछन्।
एक्स्पोको प्रवेश टिकटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने आयोजकले जनाएको छ।


