काठमाडौँः सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित १० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा गरिएको निर्णयअनुसार ती कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सरकारी सार्वजनिक खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सबैभन्दा लामो ३ वर्षका लागि कालोसूचीमा परेका कम्पनीमा पप्पुरमहादेव जेभी र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि रहेका छन्।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीको सिफारिसमा पूर्वसांसद सुमित रौनियारसँग सम्बन्धित पप्पु कन्स्ट्रक्सन प्रालि र नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष रवि सिंहसँग सम्बन्धित महादेव खिम्ती निर्माण सेवा प्रालि सम्मिलित पप्पुरमहादेव जेभीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो। उक्त जेभीले कन्काई पुल निर्माणको ठेक्का १४ वर्षसम्म सम्पन्न नगरेपछि गत मङ्सिर ११ गते ठेक्का सम्झौता रद्द गरिएको थियो।
सोही कार्यालयको सिफारिसमा सुभाष श्रेष्ठ मुख्य व्यक्ति रहेको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि (हेटौँडा)लाई पनि ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।
यस्तै, पूर्वाधार विकास निर्देशनालय, सुर्खेतको सिफारिसमा हिरा नेपाली निर्माण सेवा (जुम्ला) तथा सडक डिभिजन, हर्कपुरको सिफारिसमा शुभम् निर्माण सेवा ९गोरखा० लाई २र२ वर्षका लागि कालोसूचीमा राखिएको छ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, कुश्माको सिफारिसमा दीपेन्द्रबहादुर शाही मुख्य व्यक्ति रहेको भारतरसिद्धिसाई जेभी (भारत कन्स्ट्रक्सन र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन) लाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
त्यसैगरी, ग्लोबल ड्रग्स सप्लायर्स, लुम्बिनी मोटर्स एन्ड पम्प इन्डस्ट्रिज प्रालि र मायुमी कन्स्ट्रक्सन प्रालि लाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यी कम्पनीमाथि कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सरकारी निकायको सार्वजनिक खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन्।
