काठमाडौं। नेपाली बैंकिङ प्रणाली बाह्य रूपमा पर्याप्त पुँजी, तरलता र नाफाका कारण स्थिर देखिए पनि भित्रभित्रै वित्तीय जोखिम बढ्दै गएको नेपाल राष्ट्र बैंकले औँल्याएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको फाइनान्सियल स्टेबिलिटी रिपोर्ट २०२४/०२५ अनुसार बैंकहरूको सबैभन्दा ठूलो चुनौती अहिले बढ्दो निष्क्रिय कर्जा (एनपीएल) र खस्कँदो सम्पत्ति गुणस्तर बनेको छ।
प्रतिवेदनले आर्थिक गतिविधिमा आएको सुस्तताले ऋणीहरूको कर्जा तिर्ने क्षमता कमजोर बनाएको उल्लेख गरेको छ। त्यसको प्रत्यक्ष असर बैंकहरूको कर्जा पोर्टफोलियोमा देखिएको छ। २०८१ असार मसान्तमा ३.८६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात एक वर्षमै बढेर ४.६२ प्रतिशत पुगेको छ। पछिल्लो तथ्यांकअनुसार २०८३ चैतसम्म यो अनुपात साढे ५ प्रतिशत नाघिसकेको छ।
राष्ट्र बैंकका अनुसार अहिलेको निष्क्रिय कर्जामध्ये ६२.३० प्रतिशत हिस्सा सबैभन्दा जोखिमयुक्त ‘खराब कर्जा’को रहेको छ। यसले बैंकहरूले तत्काल कर्जा असुल गर्ने सम्भावना कमजोर बन्दै गएको संकेत गर्छ। त्यसैगरी शंकास्पद कर्जाको हिस्सा पनि १६.९५ प्रतिशतबाट बढेर २१.०६ प्रतिशत पुगेको छ। जसले आगामी दिनमा खराब कर्जा अझ बढ्न सक्ने संकेत दिएको छ।
एक वर्षको अवधिमा बैंकहरूको निष्क्रिय कर्जा झन्डै ५९ अर्ब रुपैयाँ बढेको छ। २०८१ असारमा १ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ रहेको खराब कर्जा २०८२ असारसम्म आइपुग्दा २ खर्ब ५८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले यसले बैंकहरूको नाफा मात्र होइन, पूँजीकोषमाथि समेत दबाब बढाएको जनाएको छ।
यी क्षेत्रमा सबैभन्दा बढी खराब कर्जा
क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै निष्क्रिय कर्जा माछापालन क्षेत्रमा देखिएको छ। जहाँ खराब कर्जा ९.९७ प्रतिशत पुगेको छ। त्यसपछि थोक तथा खुद्रा व्यापार ८.५१, निर्माण क्षेत्र ८.४०, कृषि ७.९२ र यातायात तथा सार्वजनिक सेवा ६.६९ प्रतिशत रहेका छन्।
राष्ट्र बैंकका अनुसार निर्माण क्षेत्रको सुस्तता, व्यापारिक कारोबारमा आएको गिरावट तथा उपभोक्ताको कमजोर क्रयशक्तिले उत्पादन र सेवा क्षेत्रमा प्रवाह भएको कर्जा असुल गर्न कठिन भएको छ।
पुँजी पर्याप्त भए पनि जोखिम बढ्दै
प्रतिवेदनले बैंकहरूको पुँजी पर्याप्तता अनुपात अहिले पनि नियामकीय सीमाभन्दा माथि रहेको जनाएको छ। समीक्षा अवधिमा कुल पुँजी पर्याप्तता अनुपात १२.९५ र प्राथमिक पुँजीकोष १०.१३ प्रतिशत रहेको छ।
तर, राष्ट्र बैंकले सम्पत्तिको गुणस्तर निरन्तर खस्कँदै जाँदा यही दर कायम राख्न चुनौती थपिँदै गएको चेतावनी दिएको छ। खराब कर्जा बढ्दै जाँदा बैंकहरूले थप कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) गर्नुपर्ने हुन्छ। जसले प्रत्यक्ष रूपमा पूँजीकोषमा दबाब सिर्जना गर्ने प्रतिवेदनको निष्कर्ष छ।
ठूला ऋणी डिफल्ट भए विभिन्न ९ बैंक जोखिममा
राष्ट्र बैंकले गरेको स्ट्रेस टेस्टले पनि बैंकिङ प्रणालीको संवेदनशीलता उजागर गरेको छ।
यदि बैंकहरूको १५ प्रतिशत असल कर्जा कमसल वर्गमा झरेमा ६ वटा वाणिज्य बैंकको पुँजी पर्याप्तता न्यूनतम सीमाभन्दा तल झर्ने देखिएको छ। त्यस्तै, ५ प्रतिशत असल कर्जा सिधै खराब कर्जामा परिणत भए १२ वटा बैंकले नियामकीय पूँजी कायम राख्न नसक्ने अवस्था आउने प्रतिवेदनले देखाएको छ।
सबैभन्दा गम्भीर अवस्था भने ठूला ऋणीसँग सम्बन्धित छ। कुनै बैंकका शीर्ष दुई ऋणीले कर्जा नतिरी डिफल्ट भए ९ वटा बैंकको पुँजी पर्याप्तता तोकिएको सीमाभन्दा तल झर्ने जोखिम रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले जोखिममा पर्न सक्ने ९ बैंकको नाम भने सार्वजनिक गरेको छैन। प्रतिवेदनमा बैंकहरूको पहिचान खुलाइएको छैन र समग्र प्रणालीगत जोखिमको नतिजा मात्र प्रस्तुत गरिएको छ।
तरलता सहज, तर निक्षेप केही ठूला ग्राहकमा निर्भर
रिपोर्टअनुसार बैंकिङ प्रणालीमा तरलताको अभाव भने छैन। खुद तरल सम्पत्ति कुल निक्षेपको ३४.३३ प्रतिशत पुगेको छ। जुन न्यूनतम २० प्रतिशतको मापदण्डभन्दा धेरै माथि हो।
तर राष्ट्र बैंकले निक्षेप संरचनामा पनि अर्को जोखिम औँल्याएको छ। यदि कुनै बैंकका शीर्ष दुई संस्थागत निक्षेपकर्ताले एकैपटक पैसा झिके तीन वटा बैंक तरलता संकटमा पर्न सक्ने देखिएको छ। शीर्ष पाँच निक्षेपकर्ताले रकम फिर्ता लगेमा ६ वटा बैंक प्रभावित हुने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ।
नाफा बढ्यो, तर कार्यक्षमता घट्दै
गत आर्थिक वर्षमा बैंकहरूको खुद नाफा १०.०७ प्रतिशतले बढेर ७७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। तर राष्ट्र बैंकले नाफाको वृद्धि गुणात्मक रूपमा उत्साहजनक नभएको जनाएको छ।
सम्पत्तिमा प्रतिफल (आरओए) ०.८७ प्रतिशतबाट घटेर ०.८५ प्रतिशतमा झरेको छ भने सञ्चालन लागत बढ्दै जाँदा लागत–आम्दानी अनुपात पनि कमजोर बनेको छ। यसले बैंकहरूको सञ्चालन दक्षता घट्दै गएको संकेत गरेको प्रतिवेदनमा उल्लेख छ।
साइबर जोखिम पनि बढ्दो चुनौती
राष्ट्र बैंकले सञ्चालन जोखिमलाई पनि गम्भीर रूपमा औँल्याएको छ। साइबर आक्रमण वा प्राविधिक समस्याका कारण बैंकहरूको आम्दानी ५० प्रतिशतले घट्ने अवस्था आए १० वटा बैंकको पुँजी पर्याप्तता जोखिममा पर्ने देखिएको छ। यद्यपि सेयर बजारमा बैंकहरूको प्रत्यक्ष लगानी कम भएकाले बजारमा ठूलो गिरावट आए पनि सीमित बैंक मात्र प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकले निष्कर्षमा बैंकहरू अब कर्जा विस्तारमा मात्र केन्द्रित हुनुभन्दा पनि विद्यमान कर्जाको गुणस्तर सुधार, प्रभावकारी असुली प्रणाली र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएको छ। अन्यथा अहिले स्ट्रेस टेस्टमा देखिएका जोखिमहरू भविष्यमा वास्तविक वित्तीय संकटमा परिणत हुन सक्ने चेतावनी प्रतिवेदनले दिएको छ।
