काठमाडौँः नबिल बैंक लिमिटेड विश्वस्तरका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंक युरोमनी अवाड्र्स फर एक्सिलेन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् अवार्डबाट सम्मानित भएको हो।
यी सम्मानले नेपालको बैंकिङ क्षेत्रमा अग्रणी संस्थाका रूपमा नबिल बैंकको भूमिका, वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) सम्बन्धी प्राथमिकतालाई मान्यता दिएको बैंकले जनाएको छ। साथै, नेपालका साना तथा मझौला उद्यम (एसएमई) को विकासमा बैंकले पु¥याएको योगदानलाई समेत अवार्डले सम्मान गरेको बैंकको भनाइ छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताए।
उनले भने, ‘युरोमनीबाट प्राप्त यी प्रतिष्ठित सम्मानले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ। नेपाल्स बेस्ट बैंक फर ईएसजी तथा नेपाल्स बेस्ट बैंक फर एसएमईज् जस्ता उपाधि प्राप्त गर्नु भनेको ग्राहक, कर्मचारी, सेयरधनी तथा साझेदारहरूले नबिल बैंकमाथि राख्नुभएको विश्वासको परिणाम हो। यी सम्मानले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएका छन्। आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान पु¥याउन हामी प्रतिबद्ध छौँ।’
युरोमनी अवाड्र्स फर एक्सिलेन्स लाई बैंकिङ क्षेत्रका प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डमध्ये एक मानिन्छ। यसले नवप्रवर्तन, नेतृत्व र उत्कृष्ट कार्यसम्पादनमार्फत आफ्नो बजारमा प्रभाव पार्ने संस्थालाई सम्मान गर्दै आएको छ।
नेपाल्स बेस्ट बैंक अवार्डले नबिल बैंकको वित्तीय अवस्था, ग्राहक केन्द्रित नवप्रवर्तन, डिजिटल रूपान्तरणमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको बैंकले जनाएको छ।
त्यसैगरी, नेपाल्स बेस्ट बैंक फर ईएसजी अवार्डले दिगो वित्त, जिम्मेवार बैंकिङ अभ्यास, हरित वित्तीय लगानी, वित्तीय समावेशीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले देखाएको नेतृत्वलाई सम्मान गरेको छ। बैंकले आफ्नो व्यावसायिक रणनीतिमा दिगोपनालाई प्राथमिकतामा राख्दै वातावरणीय तथा सामाजिक प्रभाव सिर्जना गर्ने विभिन्न पहल अघि बढाउँदै आएको जनाएको छ।
यस्तै, नेपाल्स बेस्ट बैंक फर एसएमईज् अवार्डले उद्यमशीलता प्रवद्र्धन, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि सुदृढीकरणका लागि साना तथा मझौला उद्यमलाई लक्षित वित्तीय सेवा, कर्जाका विशेष योजना तथा परामर्शमूलक सेवा उपलब्ध गराउन बैंकले खेलेको भूमिकालाई सम्मान गरेको छ।
नबिल बैंकले पछिल्ला वर्षमा डिजिटल बैंकिङ, ग्राहक सेवा, दिगो बैंकिङ अभ्यास तथा वित्तीय समावेशीकरणका क्षेत्रमा निरन्तर लगानी गर्दै आएको जनाएको छ। बैंकले ग्राहक, समुदाय, सेयरधनी तथा समग्र अर्थतन्त्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यसहित आफ्नो सेवा विस्तार गर्दै आएको बताएको छ।
नबिल बैंकका अनुसार बैंकले देशभर रहेका २६४ शाखा र ३१५ एटीएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसहित ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अघि बढाउँदै आएको जनाएको छ।
