काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजीबजारमा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने उद्देश्यसहित सम्बन्धित निकायसँग उच्चस्तरीय छलफल गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ मा संस्थागत लगानीलाई प्राथमिकतामा राख्दै बजारलाई थप स्थिर, पारदर्शी र दिगो बनाउने रणनीति अघि बढाएको जनाएको छ।
सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा भएको छलफलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च अधिकारी सहभागी भएका थिए। बैठकमा संस्थागत लगानीको वर्तमान अवस्था, देखिएका चुनौती तथा आवश्यक नीतिगत सुधारका विषयमा विस्तृत छलफल भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार पछिल्ला वर्षहरूमा व्यक्तिगत ९रिटेल० लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढे पनि संस्थागत लगानीकर्ताको उपस्थिति अपेक्षाअनुसार विस्तार हुन सकेको छैन। यसले बजारमा दीर्घकालीन लगानी संस्कृतिको विकास, मूल्य निर्धारणको प्रभावकारिता, तरलता व्यवस्थापन तथा बजार स्थायित्वमा अपेक्षित योगदान पुग्न नसकेको निष्कर्ष बोर्डले निकालेको छ।
छलफलका क्रममा अध्यक्ष भट्टले संस्थागत लगानीकर्तालाई परम्परागत लगानी शैलीबाट बाहिर निस्केर तथ्य, विश्लेषण र जोखिम व्यवस्थापनमा आधारित ‘स्मार्ट इन्भेष्टमेन्ट’ अवधारणालाई अपनाउन आग्रह गरे। उनका अनुसार पूँजीबजारको दिगो विकास र स्थायित्वका लागि संस्थागत लगानीकर्ताको सक्रिय, जिम्मेवार र दीर्घकालीन सहभागिता अपरिहार्य छ।
उनले बजार विकासमा देखिएका नीतिगत तथा नियामकीय अवरोध हटाउन बोर्ड आवश्यक सहजीकरण गर्न तयार रहेको पनि बताए। संस्थागत लगानी सहज बनाउन सम्बन्धित निकायसँग समन्वय र आवश्यक सुधारका पहललाई तीव्रता दिइने उनको भनाइ थियो।
सेबोनले विकसित मुलुकका पूँजीबजारको अनुभवलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै संस्थागत लगानीकर्ताको सक्रिय सहभागिताले बजारमा स्थायित्व, तरलता, सुशासन र लगानीकर्ताको विश्वास अभिवृद्धि हुने उल्लेख गरेको छ।
बोर्डले छलफलबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आगामी दिनमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, लगानी वातावरणलाई थप अनुकूल बनाउने तथा नेपालको पूँजीबजारलाई सन्तुलित, विश्वसनीय र दीर्घकालीन वित्तीय प्रणालीका रूपमा विकास गर्न आवश्यक नीतिगत कदम अघि बढाइने जनाएको छ।


