काठमाडौँः सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिन थालिएपछि यसअघि कायम रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्। कार्यदलले गठन भएको १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने निर्णय भएको मुख्यसचिव कार्कीले हस्ताक्षर गरेको निर्णयमा उल्लेख छ।
यसैगरी, चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान गरिएका विधेयकको मस्यौदा तयार गर्ने काम सम्बन्धित मन्त्रालयले शीघ्र सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले लामो समयदेखि प्रयोगमा नरहेका, असान्दर्भिक भएका तथा सरकारी कार्यसम्पादनमा बाधा पुर्याउने प्रकृतिका कानुन खारेज गर्न सम्बन्धित मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ।


