काठमाडौँः एनआईसी एशिया बैंक २९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी, रणनीतिक साझेदार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा बैंकलाई थप सबल, दिगो र ग्राहककेन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले झण्डै तीन दशकको यात्रामा बैंक आफ्ना ग्राहकसँगको विश्वास र सहकार्यका कारण ठूलो परिवारका रूपमा स्थापित हुन सफल भएको बताएका छन्।
उनले बैंकको यात्रामा ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी तथा अन्य सरोकारवालाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उनीहरूको विश्वासलाई आधार बनाएर बैंकलाई थप दिगो र सक्षम संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘झण्डै तीन दशकअघि सुरु भएको यात्रामा आज २९औँ वार्षिकोत्सव मनाइरहँदा यहाँसम्म आइपुग्न साथ दिनुहुने हाम्रा सम्पूर्ण ग्राहकसँग जोडिएर आज हामी एउटा ठूलो परिवार बनिसकेका छौँ। यहाँहरूको विश्वास नै हाम्रो शक्ति हो। यही विश्वासलाई लिएर हामी आगामी दिनमा बैंकलाई अझ दिगो स्वरूपमा रूपान्तरण गर्नेछौँ,’ सीईओ शाक्यले भने।
उनले बैंकको विकास र विस्तारमा नियामक निकाय, शेयरधनी, कर्मचारी, रणनीतिक साझेदार तथा शुभेच्छुकहरूको निरन्तर सहयोग र विश्वास महत्वपूर्ण रहेको बताए।
‘सम्पूर्ण नियामक निकाय, शेयरधनी महानुभाव, कर्मचारी मित्र, रणनीतिक साझेदार तथा शुभेच्छुकहरूलाई यस विशेष अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छु। मुलुकको अर्थतन्त्र र सामाजिक क्षेत्रमा हामीले गर्न सकेका योगदानमा यहाँहरूको विश्वास र सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ,’ उनले भने।
बैंकले आगामी दिनमा प्रविधिको प्रयोग, डिजिटल बैंकिङको विस्तार, वित्तीय पहुँच र ग्राहक सेवामा थप सुधार गर्दै बैंकिङ सेवालाई अझ सहज र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
बैंकले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउन प्राथमिकता दिँदै आएको छ। बैंकिङ पहुँच विस्तारसँगै वित्तीय समावेशीकरणलाई समेत आफ्नो प्राथमिकतामा राखेको बैंकको भनाइ छ।
बैंकको यात्रा सन् १९९८ मा स्थापना भएको नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक (एनआईसी बैंक) बाट सुरु भएको हो। सन् २०१३ मा बैंक अफ एसिया नेपालसँग मर्जरपछि बैंकको नाम एनआईसी एशिया बैंक कायम भएको थियो। उक्त मर्जर नेपाली वाणिज्य बैंकिङ क्षेत्रमा दुई वाणिज्य बैंकबीच भएको महत्वपूर्ण मर्जरका रूपमा लिइन्छ।
हाल बैंकको सीईओ शाक्य छन्। उनले सन् २०२५ नोभेम्बरमा सीईओको पदभार ग्रहण गरेका हुन्। हालसम्म यस बैंकका ३१६ भन्दा बढी शाखा, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर र ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।
बैंकले वार्षिकोत्सवलाई आगामी दिनका लागि थप जिम्मेवार, दिगो र ग्राहककेन्द्रित बैंकिङ अभ्यासतर्फ अघि बढ्ने अवसरका रूपमा लिएको जनाएको छ।
बैंकले ग्राहकको विश्वासलाई आफ्नो प्रमुख शक्ति मान्दै आगामी दिनमा पनि नेपालको आर्थिक तथा सामाजिक विकासमा बैंकिङ क्षेत्रमार्फत योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
