काठमाडौँ: बढ्दो शहरीकरण, बदलिँदो जीवनशैलीसँगै राजधानी काठमाडौँलगायत मुलुकका प्रमुख शहरहरूमा अपार्टमेन्टको आकर्षण बढ्दो छ। जग्गाको सीमित उपलब्धताका कारण पछिल्लो समय मुलुकको विभिन्न शहरहरूमा ‘अपार्टमेन्ट कल्चर’ विकसित हुँदै गएको छ।
यसैकारण लक्जरी अपार्टमेन्टमा निजी लगानी बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूले पनि सहजरुपमा ऋण दिएपछि विकासकर्ताहरूले धमाधम अपार्टमेन्टहरू बनाइरहेका छन्।
यसैगरी व्यवसायिक घरना रुङ्गटा परिवारको लगानीमा वीरगञ्जको घण्टाघरमा लक्जरी अपार्टमेन्ट परियोजना निर्माण भइरहेको छ। हाल ४६ अपार्टमेन्ट परियोजना निर्माण भइरहेको छ। आगामी वर्ष सन् २०२७ देखि सञ्चालनमा ल्याउने तयारी भएको गोकुल अपार्टमेन्ट प्रालिले जनाएको छ।
कम्पनीले एक दर्जन युनिटको बुकिङ प्राप्त गरिसकेको छ। बुकिङबाट आठ करोड रुपैयाँ संकलन भइसकेको छ। बुकिङ अग्रिम भुक्तानीको केही अंश प्राप्त भए पनि योजनाअनुसार बाँकी रहेका युनिटहरू बिक्री गरी नगदमा रूपान्तरण गर्ने कम्पनीको क्षमताको दृष्टिकोणबाट महत्वपूर्ण रहनेछ।
पाँच रोपनी क्षेत्रफलमा बनिरहेको अपार्टमेन्ट परियोजनामा टु बीएचके चार, थ्री बिएचके २९ र फोर बीएचके नौ वटा र चार पेन्टहाउस हुने कम्पनीले जनाएको छ। अपार्टमेन्टमा २४सै घण्टा सीसीटीभी सुरक्षा, दुई तले स्ट्याक पार्किङ, हेल्थ क्लब, सामुदायिक हल, ध्यान केन्द्र, सुपरमार्केट, बालबालिका खेल्ने ठाउँ र स्विमिङ पुल र हललगायतका सुविधाहरू उपलब्ध छन्।
कम्पनीका आवास परियोजना सिमरा विमानस्थलबाट २० किलोमिटरको दूरीमा पर्दछ। पर्यटनको प्रचुर सम्भावना र लगानीका लागि आकर्षक गन्तव्य भएकाले वीरगन्जलाई रणनीतिक महत्वको स्थान मानिन्छ। यहाँ बसोबास गर्नेहरूले शैक्षिक संस्था, स्वास्थ्य सेवा, वित्तीय सेवा, खुद्रा पसल तथा रोजगारीका अवसरलगायतका विभिन्न सुविधाहरू प्राप्त गर्न सक्छन्।
विशेष गरी शहरी क्षेत्रमा जग्गा तथा आवासको बढ्दो मागले टेवा पुर्याएको छ। जहाँ आपूर्ति सीमित छ। लगानीका अन्य विकल्पहरू पनि कम छन्। उपभोक्ताहरूको प्राथमिकतामा आएको परिवर्तनसँगै, आफैँले घर निर्माण गर्नुको सट्टा तत्काल बसोबास गर्न मिल्ने अपार्टमेन्ट र हाउजिङ कोलोनीहरूप्रतिको आकर्षण बढेको छ। जसले गर्दा यस्ता सम्पत्तिहरूमा लगानीमा वृद्धि भएको छ।
महेन्द्र राजमार्गसँगको निकटताले यस क्षेत्रको आवतजावत तथा पहुँचलाई थप सहज बनाएको छ। उपयुक्त स्थान र आवश्यक सुविधाहरूको उपलब्धताले गोकुलका परियोजनाहरूको मागमा स्थिरता कायम राख्न तथा बजारमा तिनको आकर्षण बढाउन मद्दत गर्दछ।
कम्पनीका अध्यक्ष प्रदीपकुमार रुङ्टा रहेका छन्। उनीसँग उत्पादन, व्यापार, वित्त र रियल इस्टेट जस्ता विभिन्न क्षेत्रमा एक दशकभन्दा लामो अनुभव छ। जसमा नारायणी टायर हाउस जस्ता स्थापित कम्पनीहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव पनि समावेश छ। कम्पनीको प्रबन्ध निर्देशक शुभम रुङ्टा छन्।
जग्गा प्राप्तिदेखि निर्माण हुँदै अन्तिम हस्तान्तरणसम्मको लामो परियोजना चक्रका कारण घरजग्गा क्षेत्र प्रत्येक चरणमा विद्यमान आर्थिक अवस्थाप्रति अत्यधिक संवेदनशील हुन्छ।
अत्यधिक पुँजी आवश्यक पर्ने यस क्षेत्रमा आर्थिक उतार चढावको प्रभाव बढी पर्ने गर्दछ। विशेष गरी बिक्रीमा आउने कमी र निर्माण सामग्री वा अन्य लागतमा हुने वृद्धिले तरलताको दबाबलाई अझ बढाउँछ। जसको असर उच्च ऋणभार भएका कम्पनीहरूमा अझ बढी देखिन्छ।
