काठमाडौँः सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा खुदनाफा उल्लेख्य रूपमा बढाउन सफल भएको छ। नाफा, खुद ब्याज आम्दानी र वितरणयोग्य नाफामा सुधार आए पनि निष्क्रिय कर्जा (एनपीएल) बढ्नु बैंकका लागि प्रमुख चुनौतीका रूपमा देखिएको हो।
गत असार मसान्त (चौथो त्रैमास) सम्म बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुदनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको ६० करोड ६६ लाख रुपैयाँको तुलनामा ४६.६९ प्रतिशत बढी हो।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्जमा आएको कमीले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ७ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष १६.८३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ५४ लाख रुपैयाँबाट घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्ष ५.५२ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्ष बढेर ६.८७ प्रतिशत पुगेको छ। यसले नाफा बढे पनि कर्जा असुली र खराब कर्जा व्यवस्थापन बैंकका लागि अझै चुनौतीपूर्ण रहेको संकेत गर्छ।
लाभांश क्षमता १३ प्रतिशतभन्दा माथि
बैंकको वितरणयोग्य नाफा भने बढेको छ। गत असार मसान्तसम्म सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ४९ करोड २३ लाख रुपैयाँ छ। जुन अघिल्लो आर्थिक वर्षमा ३६ करोड ८३ लाख रुपैयाँ थियो।
बैंकको ३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा वितरणयोग्य नाफालाई हेर्दा करिब १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ३६ पैसा रहेको थियो।
निक्षेप र कर्जा दुवै विस्तार
बैंकले व्यवसाय विस्तारलाई पनि निरन्तरता दिएको छ। ग्राहकबाट संकलित निक्षेप ५४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह ४२ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
बजारमा ब्याजदर घटेसँगै बैंकको लागततर्फ पनि सुधार आएको छ। बैंकको निक्षेप लागत (कस्ट अफ फन्ड) ५.०१ प्रतिशतबाट घटेर ३.५४ प्रतिशतमा झरेको छ। आधार दर ७.०८ प्रतिशतबाट घटेर ५.५७ प्रतिशतमा कायम भएको छ।
बैंकको सीडी रेसियो ८३.३७ प्रतिशत छ। यसले नियामकीय सीमाभित्र बैंकसँग थप कर्जा विस्तारका लागि पर्याप्त स्रोत तथा तरलता रहेको संकेत गर्छ
