काठमाडौँः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ को तेस्रो र चौथो त्रैमासमा चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई विभिन्न नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको छ।
वित्तीय संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो त्रैमासमा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेको भन्दै जरिवाना गरिएको हो।
राष्ट्र बैंकका अनुसार सिन्धु विकास बैंकलाई २ रुपैयाँ ८४ पैसा, सप्तकोशी डेभलपमेन्ट बैंकलाई १० हजार २५३ रुपैयाँ ८५ पैसा तथा मितेरी डेभलपमेन्ट बैंकलाई १८ हजार ५०५ रुपैयाँ ७१ पैसा जरिवाना गरिएको छ।
चौथो त्रैमासमा भने नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्स कारबाहीमा परेका छन्।
नारायणी डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई एकल ग्राहक कर्जा सीमा उल्लंघन भएको अवधिमा नेतृत्वमा रहेको भन्दै भविष्यमा यस्ता कमजोरी नदोहो¥याउन सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकमा भने भल्टमा रहेको नगद अपचलन, ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच तथा आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल तथा सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई सचेत गराइएको छ।
यस्तै, रिलायन्स फाइनान्सले तोकिएको अवधिमा अनिवार्य नगद मौज्दात कायम नगरेकाले २ हजार ९२४ रुपैयाँ ४८ पैसा जरिवाना तिर्नुपर्ने भएको राष्ट्र बैंकले जनाएको छ।


