काठमाडौँ: लगानीकर्तामाझ सामूहिक लगानी कोष (म्युचअल फन्ड) प्रति आकर्षण बढ्दै गएको छ। मुलुकमा हाल ४३ वटा बन्दमुखी र १४ वटा खुल्लामुखी गरी कूल ५७ वटा म्युचुअल फन्ड सञ्चालनमा छन्।
ती सबै योजनाको २०८३ जेठ सम्मको प्राप्त प्रति एकाइ खुद सम्पत्ति मूल्य (न्याभ) मा वृद्धि भएको छ। म्युचुअल फन्डको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ हुन्छ।
बन्दमुखी योजनामध्ये प्रभु स्मार्ट फन्ड १४ रुपैयाँ ७७ पैसाको न्याभसहित सबैभन्दा अगाडि रहेको छ। त्यसपछि प्रभु सेलेक्ट फन्डको न्याभ १३ रुपैयाँ ६२ पैसा, कुमारी धनवृद्धि योजनाको १२ रुपैयाँ ७९ पैसा, हिमालयन ८०–२०को १२ रुपैयाँ ६२ पैसा, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१को ११ रुपैयाँ ९७ पैसा तथा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ११ रुपैयाँ ९३ पैसा कायम भएको छ।
त्यसैगरी कुमारी इक्विटी फन्डको न्याभ ११ रुपैयाँ ९५ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ११ रुपैयाँ ९० पैसा, रिलायबल समृद्धि योजनाको ११ रुपैयाँ ३५ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को ११ रुपैयाँ २२ पैसा तथा आरबीबी म्युचुअल फन्ड–२को ११ रुपैयाँ ६ पैसा पुगेको छ।
बन्दमुखी योजनामध्ये हिमालयन लाइफ लार्ज क्याप फन्डको न्याभ सबैभन्दा कम ८ रुपैयाँ ९६ पैसा रहेको छ। त्यसपछि मेगा म्युचुअल फन्ड–१ को ९ रुपैयाँ ७८ पैसा, एनआईसी एसिया सेलेक्ट–३० र एनआईबीएल स्टेबल फन्डको ९ रुपैयाँ ८० पैसा तथा नेपाल लाइफ समृद्धि लगानी योजनाको ९ रुपैयाँ ८२ पैसा छ।
दोस्रो बजारमा कारोबार हुने अधिकांश बन्दमुखी फन्डको बजार मूल्य न्याभभन्दा कम रहेको छ। एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड ११.४६ प्रतिशत, रिलायबल समृद्धि योजना ११.४४ प्रतिशत, एनआईसी एसिया ग्रोथ फन्ड–२ ११.१८ प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ १०.७३ प्रतिशत तथा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ १०.१२ प्रतिशत छुटमा कारोबार भइरहेका छन्। यद्यपि लक्ष्मी उन्नति कोष, एनएमबी–५० र हिमालयन लाइफ लार्ज क्याप फन्ड भने न्याभभन्दा केही माथिको मूल्यमा कारोबार भएका छन्।
खुल्लामुखी योजनामध्ये कुमारी सुनौलो लगानी योजनाको न्याभ सबैभन्दा धेरै १२ रुपैयाँ ८ पैसा रहेको छ। त्यसपछि माछापुच्छ्रे एसआईपी योजनाको ११ रुपैयाँ ५८ पैसा, सिद्धार्थ सिस्टेम्याटिक इन्भेष्टमेन्ट स्किमको ११ रुपैयाँ ३ पैसा, प्रभु सिस्टेम्याटिक इन्भेष्टमेन्ट स्किमको १० रुपैयाँ ८६ पैसा, एनएमबी सरल बचत फन्ड–ईको १० रुपैयाँ ७७ पैसा, नबिल फ्लेक्सी क्याप फन्डको १० रुपैयाँ ६० पैसा तथा सानिमा फ्लेक्सी फन्डको १० रुपैयाँ ४९ पैसा कायम भएको छ।
त्यसैगरी शुभ लक्ष्मी कोषको न्याभ १० रुपैयाँ ३४ पैसा, एनआई–३१ को १० रुपैयाँ ३३ पैसा, एनआईबिएल सहभागिता फन्डको १० रुपैयाँ २९ पैसा, सिटिजन्स सदाबहार योजनाको १० रुपैयाँ २५ पैसा, एनआईसी एसिया डाइनामिक डेट फन्डको १० रुपैयाँ १० पैसा, एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको ९ रुपैयाँ ८७ पैसा तथा गरिमा सुबर्ण योजनाको ९ रुपैयाँ ८४ पैसा रहेको छ।
खुल्लामुखी योजनाका इकाइ भने सम्बन्धित क्यापिटल कम्पनीबाट सोझै न्याभकै आधारमा खरिद–बिक्री गर्न सकिने व्यवस्था छ। त्यसैले यी योजनामा बन्दमुखी फन्डजस्तो बजार मूल्य र न्याभबीच अन्तर हुँदैन।
अधिकांश फन्डको न्याभ लगानी गरेको कम्पनीको सेयर मूल्यमा निर्भर रहेको छ। सेयर बजार माथि गएका बेला फन्डको न्याभ माथि हुन्छ भने घटेका बेला प्रति इकाइ अंकित मूल्य भन्दा तल जाने अवस्था पनि आउन सक्छ।
एनआईसी एसिया क्यापिटलका प्रमुख सञ्चालन अधिकृत प्रज्ञारत्न शाक्यले पछिल्लो समय म्युचुअल फन्डप्रति आम लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताए।
‘अघिल्ला वर्षको तुलनामा म्युचुअल फन्डमा नयाँ लगानीकर्ता थपिने क्रम बढेको छ। अब धेरै योजनाले लाभांश घोषणा गर्ने समय पनि नजिकिएको छ। एउटा योजनाले लाभांश घोषणा गरिसकेको छ भने अन्य योजनाले पनि क्रमशः लाभांश सार्वजनिक गर्नेछन्,’ उनले भने।
यसैबीच, सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ सिस्टेम्याटिक इन्भेष्टमेन्ट स्किमले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट इकाइधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यो खुल्लामुखी म्युचुअल फन्डबाट घोषणा भएको पहिलो लाभांश हो।
म्युचुअल फन्डमा धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी सेयर, ऋणपत्र र अन्य धितोपत्रहरूमा लगानी गर्ने वित्तीय औजार हो। यो एक लगानी प्रबन्धकद्वारा व्यवस्थित र सञ्चालित हुन्छ।
विशेषज्ञहरूका अनुसार म्युचुअल फन्ड अनुभवी कोष व्यवस्थापकद्वारा सञ्चालन हुने भएकाले व्यक्तिगत रूपमा सेयर छनोट गर्न नसक्ने लगानीकर्ताका लागि यो अपेक्षाकृत सुरक्षित लगानी माध्यम मानिन्छ।
बन्दमुखी योजनामा न्याभभन्दा कम मूल्यमा इकाइ किन्न सकिने अवसर हुने भएकाले दीर्घकालीन लगानीकर्तालाई फाइदा पुग्न सक्छ भने खुल्लामुखी योजनामा नियमित बचत तथा व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत सानो रकमबाट पनि लगानी गर्न सकिन्छ।
नेपाल धितोपत्र बोर्डको सामूहिक लगानी कोष नियमावली–२०६७ अनुसार म्युचुअल फन्ड दुई प्रकारका हुन्छन्। बन्दमुखी योजना निश्चित अवधिका लागि सञ्चालन हुन्छ र यसको कारोबार नेप्सेमा हुने गर्छ।
खुल्लामुखी योजनाको भने निश्चित अवधि हुँदैन र लगानीकर्ताले सम्बन्धित कोष व्यवस्थापकबाट न्याभकै आधारमा जुनसुकै समयमा इकाइ खरिद वा बिक्री गर्न सक्छन्।