काठमाडौं। एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले लाभांश वितरणका लागि बलियो आधार तयार पारेको छ।
नियामकीय समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यस्तै प्रतिसेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ।
गत आर्थिक वर्ष बैंकको खुदनाफा ४.७५ प्रतिशत बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८१०८२ मा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चुक्ता पुँजी वृद्धि भएकाले बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने अघिल्लो वर्षको तुलनामा केही घटेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ०.९७ प्रतिशतको सामान्य वृद्धि हो। सञ्चालन नाफा पनि ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड १६ लाखबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक प्रगति गरेको छ। निक्षेप परिचालन ५.७६ प्रतिशत वृद्धि भई ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। कर्जा लगानी १०.३७ प्रतिशत बढेर २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सम्पत्ति पनि ५.५३ प्रतिशत वृद्धि हुँदै ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
समग्रमा, नाफा, कर्जा विस्तार र वितरणयोग्य नाफाको अवस्थाले बैंकको वित्तीय आधार सुदृढ बन्दै गएको संकेत गरेको छ।


