काठमाडौं। ग्लोबल आईएमई बैंकको नाफा २२.६२ प्रतिशत बढेको छ। गत आर्थिक वर्ष २०८२/०८३ मा बैंकले छ अर्ब २२ करोड ८१ लाख रुपयाँ खुदनाफा आर्जन गरेको छ।
आर्थिक वर्ष २०८१/०८२को सोही अवधिको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ खुदनाफा गरेको थियो। एक वर्षको अवधिमा बैंकको खुदनाफा एक अर्ब १५ करोड रुपैयाँ नाफा बढेको बुधबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। बैंकको नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) दुवैमा उल्लेख्य सुधार भएको बैंकले जनाएको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ। अघिल्लो वर्ष १३ रुपैयाँ ३२ पैसा रहेको ईपीएस बढेर १६ रुपैयाँ ३४ पैसा पुगेको छ। त्यसैगरी, प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा कायम भएको बैंकले जनाएको छ।
बैंकले गत आर्थिक वर्षमा १६ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि ४ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ प्रोभिजन छुट्याएको छ। सञ्चालन नाफा ८ अर्ब ६८ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
लाभांश वितरण क्षमताको आधार मानिने वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। साधारण सेयरधनीका आधारमा प्रतिसेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा कायम भएको छ।
पूँजी पर्याप्तताका सूचकहरू पनि नियामकीय सीमाभित्र रहेका छन्। समीक्षा अवधिमा बैंकको कुल पूँजी कोष अनुपात १२.१० प्रतिशत, प्राथमिक पुँजी अनुपात १०.०४ प्रतिशत, कोषको लागत ३.४३ प्रतिशत र आधार दर ४.७५ प्रतिशत रहेको छ।
व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप संकलन ६ खर्ब ६९ अर्ब १७ करोड पुगेको छ भने कर्जा लगानी ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ छ। बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ। जगेडा कोष २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ।


