काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ।
संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ।
केन्द्रीय बैङ्कले खुला बजार कारोबारलाई मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा प्रयोग गर्दै आएको छ। खुला बजारमा नियमित र संरचनागत गरी दुई वर्गमा विभाजन गरिएको छ।
वित्तीय बजारमा देखिने नयुन र अधिक तरलता व्यवस्थापन गर्न खुला बजार कारोबार सञ्चालन समितिको हरेक शुक्रबार बैठक बस्नेछ। बैठकमा कारोबारको समीक्षा वस्तुनिष्ठ समीक्षा गरिनेछ।
बैङ्किङ प्रणालीमा आवश्यकताअनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री, दीर्घकालीन रिपो तथा दीर्घकालीन निक्षेप सङ्कलनजस्ता उपकरण सञ्चालन गरिन्छ। संशोधनले यिनै उपकरणको सञ्चालन प्रक्रियालाई अझ स्पष्ट, एकरूप र आधुनिक बनाएको छ।


