काठमाडौँः अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले शुक्रबार बिहान करिब १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
त्यस्तै, मकवानपुरको कान्तिलोकपथमा पनि वर्षायाममा हुने जोखिमलाई ध्यानमा राख्दै दैनिक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इलामको राजदुवालीस्थित मेची राजमार्ग, सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बैसेरीस्थित बेनी–जोमसोम सडक, रुकुम पश्चिमको भेरी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी–जोमसोम सडक, गुल्मीको मदन भण्डारी राजमार्ग, कालिकोटको कर्णाली राजमार्ग, रोल्पाको घोराही–थवाङ शहीद राजमार्ग तथा सोलुखुम्बुको निलदोर्जे पर्यटक सडकखण्ड (सल्लेरी–लुक्ला) विभिन्न स्थानमा पहिरो, लेदो तथा सडक कटानका कारण अवरुद्ध भएका छन्।
कतिपय सडकखण्डमा वैकल्पिक मार्गबाट सवारी सञ्चालन भइरहेको भए पनि अधिकांश स्थानमा सडक खुलाउने प्रयास जारी रहेको नेपाल प्रहरीले जनाएको छ।
वर्षायाममा पहाडी तथा हिमाली जिल्लातर्फ यात्रा गर्दा सडकमा पहिरो, बाढी तथा सडक कटानको जोखिम रहने भएकाले यात्रु तथा सवारी चालकलाई सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।


