काठमाडौँः नेपाल धितोपत्र बोर्डले प्राथमिक पुँजीबजारमा हुने सेयर निष्काशन तथा मूल्य निर्धारण प्रणालीलाई क्रमशः बजारमुखी बनाउने योजना अघि सारेको छ। बोर्डले सार्वजनिक गरेको ‘नेपालको प्राथमिक पुँजीबजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ मा आगामी पाँच वर्षभित्र प्राथमिक बजारलाई बढी प्रतिस्पर्धी, पारदर्शी र संस्थागत लगानीकर्तामैत्री बनाउने लक्ष्य राखिएको छ।
बोर्डले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हाल कायम रहेका मूल्य निर्धारणका अभ्यासको पुनरावलोकन गर्दै दीर्घकालीन रूपमा बजारको माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुने प्रणाली विकास गर्ने प्रस्ताव गरेको हो।
श्वेतपत्रमा प्राथमिक बजार सुधारलाई तीन चरणमा अघि बढाउने योजना समेटिएको छ। पहिलो चरणमा नीतिगत तथा कानुनी सुधार, दोस्रोमा संस्थागत तथा प्रविधिगत सुदृढीकरण र तेस्रो चरणमा प्राथमिक बजारलाई थप उन्नत तथा बजारमुखी बनाउने लक्ष्य राखिएको छ।
आईपीओको मूल्य निर्धारणमा नयाँ अभ्यास
बोर्डले प्राथमिक बजारमा कम्पनीको सेयर मूल्य निर्धारणलाई थप वैज्ञानिक र पारदर्शी बनाउन बुक बिल्डिङलगायतका विद्यमान प्रणालीको प्रभावकारिता पुनरावलोकन गर्ने भएको छ।
दीर्घकालीन रूपमा पूर्ण बजारआधारित मूल्य निर्धारण प्रणाली विकास गर्ने बोर्डको योजना छ। त्यसका लागि बजारको गहिराइ बढाउने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने तथा नियामकीय क्षमता सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
संस्थागत तथा एंकर लगानीकर्ताको सहभागिता बढेपछि प्राथमिक निष्काशनमा वास्तविक माग पहिचान गर्न, उचित मूल्य निर्धारण गर्न तथा लगानीकर्ताको संरचना विविध बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
यसले प्राथमिक बजारलाई ठूलो संख्यामा खुद्रा लगानीकर्ताको आवेदनमा मात्र निर्भर रहने अवस्थाबाट क्रमशः व्यावसायिक तथा विविध लगानीकर्ताको सहभागिता रहेको बजारका रूपमा विकास गर्ने बोर्डको लक्ष्य छ।
पाँच वर्षमा तीन चरणको सुधार
श्वेतपत्रअनुसार सुधारको पहिलो चरणमा एक वर्षभित्र आवश्यक नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गर्ने योजना छ। सम्बन्धित ऐन तथा नियमावली संशोधनदेखि बुक बिल्डिङ प्रणालीको पुनरावलोकनसम्मका विषय यस चरणमा समेटिएका छन्।
दोस्रो चरणमा एकदेखि दुई वर्षभित्र प्राथमिक बजारको संस्थागत तथा प्रविधिगत पूर्वाधार सुदृढ बनाउने योजना छ। डिजिटल आईपीओ प्लेटफर्म, विद्युतीय ग्राहक पहिचान (ई–केवाईसी), नियामकीय प्रविधि (रेगटेक) तथा सुपरिवेक्षण प्रविधि (सुपटेक) जस्ता प्रणालीको विकास र प्रयोगलाई अघि बढाइनेछ।
तेस्रो चरणमा दुईदेखि पाँच वर्षभित्र प्राथमिक बजारलाई थप उन्नत, प्रतिस्पर्धी तथा बजारमुखी बनाउने लक्ष्य राखिएको छ। यही चरणमा बजारआधारित मूल्य निर्धारण प्रणाली विकास तथा योग्य संस्थागत र एंकर लगानीकर्ताको सहभागिता सहज बनाउने योजना अघि सारिएको छ।
आईपीओ प्रक्रियामा डिजिटल प्रणाली
बोर्डले प्राथमिक बजार सुधारमा प्रविधिको प्रयोगलाई पनि प्रमुख आधार बनाएको छ। डिजिटल आईपीओ प्लेटफर्म तथा ई–केवाईसीको प्रयोग विस्तार गरी सार्वजनिक निष्काशनको आवेदनदेखि प्रमाणीकरण र निष्काशनसम्मको प्रक्रियालाई थप सरल र पारदर्शी बनाउने लक्ष्य राखिएको छ।
डिजिटल प्रणालीको विस्तारले आईपीओ प्रक्रियामा लाग्ने समय तथा लागत घटाउनुका साथै देशका विभिन्न स्थानमा रहेका लगानीकर्ताको पहुँचसमेत बढाउने बोर्डको अपेक्षा छ।
त्यस्तै, नियामकीय प्रविधिको प्रयोगमार्फत बजार अनुगमन तथा सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउने योजना छ।
निष्काशनकर्ता र अन्य संस्थाको जिम्मेवारी बढाइने
श्वेतपत्रले आईपीओमा संलग्न विभिन्न संस्थाको जिम्मेवारी तथा जवाफदेहितालाई समेत थप स्पष्ट बनाउने प्रस्ताव गरेको छ।
विशेषगरी निष्काशन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक तथा क्रेडिट रेटिङ संस्थाको ‘ड्यु डिलिजेन्स’सम्बन्धी दायित्व स्पष्ट पार्दै उनीहरूलाई थप उत्तरदायी बनाउने व्यवस्था अघि सारिएको छ।
कम्पनीको वित्तीय अवस्था, व्यावसायिक सम्भावना, जोखिम तथा अन्य महत्वपूर्ण विवरणको यथार्थ परीक्षण गरी लगानीकर्तासमक्ष विश्वसनीय सूचना पु¥याउने जिम्मेवारी सम्बन्धित संस्थामाथि थप स्पष्ट रूपमा राख्ने बोर्डको तयारी छ।
यसबाट प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रको गुणस्तर तथा लगानीकर्ताले प्राप्त गर्ने सूचनाको विश्वसनीयता बढ्ने बोर्डको अपेक्षा छ।
लगानीकर्ताको वित्तीय साक्षरता पनि प्राथमिकतामा
बोर्डले प्राथमिक बजारमा लगानीकर्ताको सहभागिता बढाउन वित्तीय साक्षरतालाई पनि सुधार योजनाको महत्वपूर्ण हिस्सा बनाएको छ।
प्राथमिक बजारका विभिन्न वित्तीय उपकरण, लगानीका अवसर तथा जोखिमबारे लगानीकर्तालाई पर्याप्त जानकारी उपलब्ध गराउने र बजारप्रतिको विश्वास बढाउने योजना श्वेतपत्रमा समेटिएको छ।
बोर्डले प्राथमिक बजारमा नयाँ वित्तीय उपकरणको विकास तथा विविधीकरणमा समेत जोड दिएको छ। यसबाट लगानीकर्ताले आफ्नो आवश्यकता र जोखिम क्षमताअनुसार विभिन्न विकल्पमा लगानी गर्न सक्ने अपेक्षा गरिएको छ।
आईपीओ सुधारलाई अर्थतन्त्रसँग जोड्ने प्रयास
धितोपत्र बोर्डले प्राथमिक बजार सुधारलाई आईपीओ प्रणालीमा हुने सामान्य प्राविधिक परिवर्तनका रूपमा मात्र लिएको छैन। श्वेतपत्रमा प्राथमिक बजारलाई दीर्घकालीन पुँजी परिचालन, निजी क्षेत्रको विस्तार र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
प्राथमिक बजारबाट दीर्घकालीन पुँजी परिचालन बढाउन सके निजी क्षेत्रको लगानी क्षमता विस्तार हुनुका साथै उत्पादन तथा रोजगारी सिर्जनामा समेत योगदान पुग्ने बोर्डको विश्वास छ।
बोर्डले प्रस्तावित सुधारलाई चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने जनाएको छ। त्यसका लागि सरोकारवालासँग निरन्तर छलफल तथा परामर्श गरी आवश्यक कानुनी, नीतिगत, प्रक्रियागत र प्रविधिगत सुधार अघि बढाइनेछ।
श्वेतपत्र कार्यान्वयनबाट प्राथमिक बजारमा मूल्य निर्धारण प्रणाली सुधार हुनुका साथै संस्थागत लगानीकर्ताको सहभागिता, डिजिटल पहुँच, सूचना पारदर्शिता र वित्तीय साक्षरता बढ्ने बोर्डको अपेक्षा छ। दीर्घकालीन रूपमा यसबाट प्राथमिक बजारमार्फत राष्ट्रिय पुँजी परिचालन विस्तार गर्ने लक्ष्य बोर्डले लिएको छ।


