काठमाडौँको माइतीघरको एक छेउमा पर्चा, पम्प्लेट र ब्यानर कहिल्यै टुट्दैन। यो आफ्ना माग राख्ने, कुनै विषयमा सरकारको ध्यानाकर्षण गराउने, सरकारका गतिविधिको विरोध/आलोचना गर्ने ठाउँ बनेको छ।
जेन–जी प्रदर्शन, शिक्षक आन्दोलन, मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारी पीडित, बलात्कारपीडित, सुकुम्बासीदेखि हरेक माग राख्नेहरूको मुकाम हो – माइतीघर मण्डला। यहाँ आउने सबैका आवाज सरकारले सुन्छ भन्ने त होइन, तर माइतीघरमा राखिएका धेरै स्वर सिंहदरबारसम्म पुग्छ। यहीकारण माइतीघरमा आन्दोलन गर्ने शिक्षक, मिटरब्याजपीडित, सहकारी पीडित, चिकित्सकलगायत पीडितसँग सरकार वार्ता र सहमतिका लागि आइपुग्छ।
यो स्थानलाई माइतीघर भन्ने नाम कुनै सांस्कृतिक परम्परा, विवाह संस्कार वा महिलाको माइतीसँग सम्बन्धित कारणले होइन, बरु नेपाली चलचित्रको इतिहाससँग जोडिएको एउटा रोचक घटनाबाट स्थापित भएको मानिन्छ। कुनैबेला फिल्मको ब्यानर टाँसिएको माइतीघरमा आज पनि ब्यानरको कमी छैन।
वि.सं. २०२२/२३ तिर नेपालमा निजी क्षेत्रबाट निर्माण भएको पहिलो व्यावसायिक नेपाली चलचित्र ‘माइतीघर’ निर्माण भइरहेको बेला त्यसको निर्माण कम्पनीको कार्यालय तत्कालीन थापाथली क्षेत्रमा थियो। कार्यालय रहेको भवनमा ठूलो अक्षरमा ‘माइतीघर’ लेखिएको साइनबोर्ड टाँगिएको थियो। त्यही सडकबाट दैनिक ठूलो संख्यामा मानिस आवतजावत गर्ने भएकाले उक्त बोर्ड सबैको नजरमा पर्न थाल्यो। बिस्तारै स्थानीयले त्यस वरपरको क्षेत्रलाई नै माइतीघर भनेर चिनाउन थाले, र यही नाम सार्वजनिक प्रयोगमा स्थापित हुँदै गयो।
समयसँगै थापाथलीभन्दा माइतीघर नाम बढी प्रचलित बन्यो। पछि काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितको कार्यकालमा त्यहाँ रहेका अव्यवस्थित संरचना हटाई गोलाकार सार्वजनिक संरचना (मण्डला) निर्माण गरियो। त्यसपछि उक्त स्थान माइतीघर मण्डलाका नामले चिनिन थाल्यो।
हिजो चलचित्रको प्रचार गर्न पोष्टर राखिएको माइतीघरमा आज न्याय माग्नेहरूको ब्यानर हुन्छ।
कुनैबेला गोरखाका राजाराम शाहले भनेका थिए– न्याय नपाए गोरखा जानु। आजकल माइतीघरबारे यो उखान खास फरक पर्दैन– न्याय नपाए माइतीघर जानु।















