काठमाडौँ: बीवाईडीले आफ्ना विद्यमान ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी र सवारी सुरक्षासम्बन्धी सुविधा एकैपटक उपलब्ध गराउने गरी देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले सुरु गरेको अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा लागू भएको हो। अभियानअन्तर्गत योग्य पुराना ग्राहकले बीवाईडी एप कनेक्टिभिटी र इन्फोटेनमेन्ट एक्टिभेसन निःशुल्क पाउनेछन्।
सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र यसअघि बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा नपाएका योग्य सवारीमा यो सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। त्यस्ता ग्राहकले ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा समेत पाउनेछन्।
अभियानअन्तर्गत ग्राहकले ब्याट्री कभरमा १० प्रतिशत, स्पेयर टायरमा १० प्रतिशत तथा डेन्ट–पेन्ट सेवामा १० प्रतिशत छुट पाउनेछन्। साथै, एकपटक निःशुल्क होम चार्जर चेक–अपको सुविधा पनि दिइनेछ।
साइमेक्सका अनुसार अभियानलाई ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीन भागमा विभाजन गरिएको छ। ‘केयर प्लस’अन्तर्गत सवारी निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स, व्यावसायिक डायग्नोस्टिक सेवा तथा प्रमाणित प्राविधिकमार्फत सर्भिस उपलब्ध गराइनेछ।
‘कनेक्ट प्लस’अन्तर्गत सिम तथा बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल र इन्फोटेनमेन्ट कनेक्टिभिटी सुविधा उपलब्ध हुनेछ। यसका लागि कम्पनीले एनसेलसँग सहकार्य गरेको छ।
त्यस्तै, ‘प्रोटेक्ट प्लस’अन्तर्गत बीमा नवीकरणमा सहजीकरण, बीमा दाबी प्रक्रियामा समन्वय, दुर्घटनाको अवस्थामा नगदरहित सेवा तथा योग्य सवारीका लागि विस्तारित वारेन्टीसम्बन्धी सुविधा उपलब्ध गराइनेछ। यसअन्तर्गत १० वर्षसम्मको विस्तारित वारेन्टीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ।
अभियान शुभारम्भ गर्दै साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी हस्तान्तरणपछि सुरु हुने बताए। उनका अनुसार बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर ग्राहकलाई सहज र सुरक्षित अनुभव दिने उद्देश्यले अभियान ल्याइएको हो।
बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क हाल धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोड गरी १३ स्थानमा रहेको छ। कम्पनीले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ।


