काठमाडौँ: नेपालमा विद्युतीय सवारीको लोकप्रियता बढिरहेका बेला बीवाइडीको चर्चित मोडल एटो-२ अब थप किफायती मूल्यमा उपलब्ध भएको छ। नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले राजधानीमा जारी नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ मार्फत यस गाडीको नयाँ संस्करण सार्वजनिक गरेको हो।
यसअघि बजारमा उपलब्ध प्रिमियम भेरियन्टको तुलनामा नयाँ इसेन्सियल भेरियन्टको मूल्य केही कम राखिएको छ। कम्पनीले यसको बजार मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकेर बिक्री खुला गरेको हो, जबकि यसअघिको नियमित मोडल ४८ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो।
नयाँ भेरियन्टमा मुख्य परिवर्तन यसको ब्याट्री क्षमतामा गरिएको छ। यसमा ४५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। गाडीले एकपटकको पूर्ण चार्जमा ३१३ किलोमिटरसम्मको दुरी तय गर्ने कम्पनीले जनाएको छ। ब्याट्रीको आकार सानो पारिएकाले नै यसको मूल्य अघिल्लो संस्करणको तुलनामा झण्डै ३ लाख रुपैयाँले सस्तो हुन पुगेको हो।


