काठमाडौँ: बेलायती विरासत बोकेको एमजी ब्रान्डको अहिलेसम्मकै शक्तिशाली र विशाल एसयूभी ‘मेजेस्टर’ नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले राजधानीमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो’ को अवसर पारेर गाडीको औपचारिक बिक्री सुरु गरेको हो।
कम्पनीले यो विलासी र मजबुत एसयूभीको बजार मूल्य २ करोड ५० लाख रुपैयाँ निर्धारण गरेको छ। एमजी मेजेस्टर आफ्नो श्रेणीकै सबैभन्दा शक्तिशाली गाडीमध्ये एक हो।
यो एसयूभीले ४०६ टनभन्दा बढी वजन भएको रेललाई तानेर गिनिज बुक वर्ल्ड रेकर्ड बनाएको छ।
यसमा २.० लिटरको ट्विन टर्बोचार्जड डिजेल इन्जिन जडान गरिएको छ, जसले २१५.५ पीएस पावर र ४७८.५ न्युटन मिटरको उच्च टर्क पैदा गर्छ। यसमा ८-स्पीडको अटोमेटिक ट्रान्समिसन प्रणाली रहेको छ।
५ मिटरभन्दा बढी लम्बाइ र २ मिटरभन्दा बढी चौडाइ भएको यो गाडी निकै ठूलो र मस्कुलर देखिन्छ। यसको अगाडिको भागमा टल्कने कालो रङको ठूलो ग्रिल र ठाडो आकारका एलईडी हेडलाइटहरू छन्। गाडीको पछिल्लो भागमा स्पोर्टी देखिने दुईवटा एग्जस्ट पाइप र जोडिएका एलईडी टेल लाइटहरूले यसलाई थप आकर्षक बनाएका छन्। १९ इन्चको आकर्षक ह्वीलले यसको लुक्सलाई पूर्णता दिएको छ।
जस्तोसुकै अफरोड र चुनौतीपूर्ण बाटोमा पनि सहजै चल्न सक्ने गरी यसलाई तयार पारिएको दाबी कम्पनीको छ।
