काठमाडौँ: हाइलाइफ फुड्सले दालजन्य उत्पादनसहित आफ्नो बजार विस्तार गरेको छ। गत वर्ष प्रिमियम बासमती चामल सार्वजनिक गरेर चर्चा कमाएको यस कम्पनीले यस वर्षदेखि मुङ, मुसुरो, रहर, मास र मुङ खोस्टा गरी पाँच प्रजातिका दालहरू बजारमा ल्याएको हो।
खाद्य सामग्रीको क्षेत्रमा आफूलाई आक्रामक रूपमा विस्तार गरिरहेको हाइलाइफले आकर्षक प्याकेजिङ र उच्च गुणस्तरलाई ध्यान दिँदै यी नयाँ उत्पादनहरू ग्राहकमाझ पुर्याएको जनाएको छ। बिहानको खाजादेखि रातिको खानासम्मका लागि चाहिने सबै खाद्यवस्तु एउटै ब्रान्डमा उपलब्ध गराउने रणनीतिक योजनाअनुसार दालको व्यवसाय सुरु गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलका अनुसार, एफएमसीजी क्षेत्रमा हाइलाइफले हालसम्म २० भन्दा बढी थरीका उत्पादनहरू नेपाली बजारमा उतारिसकेको छ। ‘हामी नेपाली भान्साको अभिन्न हिस्सा बन्न चाहन्छौँ,’ उनले भने, ‘अहिले बजारमा हाम्रो चिउरा, कर्नफ्लेक्स, चोको प्लसदेखि लिएर पिनट बटर, जाम, मुसली र चिया सिड्सजस्ता स्वास्थ्यवर्द्धक उत्पादनहरू समेत उपलब्ध छन्।’ यसबाहेक बेसन, सोयाबिन, केचप र विभिन्न ड्राइ फ्रुट्समा पनि कम्पनीले राम्रो बजार हिस्सा ओगटेको छ।
दैनिक रूपमा प्रयोग हुने अत्यावश्यक दालहरूको सहज उपलब्धता र शुद्धतालाई कम्पनीले मुख्य प्राथमिकता दिएको छ। पछिल्लो समय लगानीको दायरा फराकिलो बनाउँदै लगेको हाइलाइफ फुड्सले स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा पनि जोड दिएको छ।
