काठमाडौँ: नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ। हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिइँदै आएकोमा नेपालको प्रस्ताव स्वीकृत भए यो संख्या २० पुग्नेछ।

नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत उक्त प्रस्ताव अघि बढाएको हो। विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपालले थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा मान्यता दिन प्रस्ताव गरेको हो।

नेपालले अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेका हिमालमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिम छन्। प्रस्तावित हिमालमध्ये यालुङ काङको उचाइ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिणको ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्यको ८ हजार ४७३ मिटर, ल्होत्से मध्यको ८ हजार ४१० मिटर, ल्होत्से शारको ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिमको ८ हजार ७७ मिटर रहेको छ।

यी हिमाललाई छुट्टाछुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके नेपालको पर्वतारोहण क्षेत्रको पहिचान थप विस्तार हुने अपेक्षा गरिएको छ। साथै, नयाँ आरोहण गन्तव्य पहिचान हुँदा हिमाली पर्यटन, रोजगारी र स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने सरोकारवालाको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यले नेपालका नयाँ तथा आरोहणयोग्य हिमालको पहिचान गरी अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने प्रयास भइरहेको बताए।

उनका अनुसार हिमालको उचाइ यकिन गर्ने, नामकरण गर्ने र स्थानीय तथा परम्परागत पहिचानलाई समेट्ने विषय यस प्रक्रियाका महत्वपूर्ण पक्ष हुन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि ती हिमाललाई आरोहणका लागि खुला गर्ने र त्यसको व्यवस्थापन व्यवस्थित बनाउने सरकारको तयारी रहेको उनले बताए।

‘हाम्रा हिमाल आरोहणका लागि मुख्य आकर्षण हुन्। थप हिमालको पहिचान र प्रवद्र्धन गर्न सके पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्छ,’ आचार्यले भने।

उनले हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनेसँगै आरोहण अनुमति, पर्यटकीय पूर्वाधार र सुरक्षा व्यवस्थापनलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए। मौसमको पूर्वसूचनाका आधारमा आरोहीलाई आवश्यक जानकारी दिने तथा स्थानीय प्रहरी र सम्बन्धित निकायसँग समन्वय गरी आरोहण गतिविधिको अनुगमन गर्ने गरिएको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय मान्यताका लागि नेपालको प्रयास

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके नेपालको पर्वतारोहण क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हुने बताए।

उनका अनुसार नेपाल सरकारले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिएर आरोहण अनुमति जारी गर्दै आएपनि अन्तर्राष्ट्रिय समुदायले ती सबैलाई छुट्टाछुट्टै हिमालका रूपमा औपचारिक मान्यता दिइसकेको छैन।

‘नेपाल सरकारले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिएर आरोहण अनुमति जारी गर्दै आएको छ। ती हिमालमा आरोहीहरूले आरोहणसमेत गरिसकेका छन्। तर अन्तर्राष्ट्रिय समुदायले भने अझै त्यसलाई औपचारिक मान्यता दिएको अवस्था छैन,’ शेर्पाले भने।

थप ६ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए पर्वतारोहण गतिविधि विस्तार हुनुका साथै नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा बढ्ने उनको भनाइ छ। नयाँ हिमाल आरोहणका लागि खुला हुँदा स्थानीयस्तरमा होटल, यातायात, भरिया, गाइड तथा अन्य पर्यटन सेवामा रोजगारीका अवसर सिर्जना हुने उनले बताए।

‘यसबाट नेपालको पर्वतारोहण गतिविधि विस्तार हुनुका साथै कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने र रोजगारीका नयाँ अवसर सिर्जना हुनेछन्। पर्वतारोहण क्षेत्रमा काम गर्न चाहने युवाका लागि पनि रोजगारीको बाटो खुल्नेछ,’ उनले भने।

नयाँ हिमालले स्थानीय अर्थतन्त्रमा अवसर

शेर्पाका अनुसार थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए विशेषगरी कञ्चनजङ्घालगायतका हिमाली क्षेत्रमा पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुग्नेछ। सगरमाथा क्षेत्रमा पर्वतारोहण र पर्यटनका कारण आर्थिक गतिविधि बढेझैँ नयाँ हिमालको पहिचानले अन्य हिमाली क्षेत्रको पूर्वाधार, पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्न सक्ने उनले बताए।

उनका अनुसार मनास्लु, हिमलुङ, अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा र बरुञ्चेलगायतका हिमाल विदेशी पर्वतारोहीको रोजाइमा पर्ने गरेका छन्। पर्वतारोहीले आफ्नो अनुभव र क्षमताअनुसार सुरुमा ६ हजार र ७ हजार मिटरका हिमाल आरोहण गर्दै क्रमशः आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने लक्ष्य राख्ने गरेको उनले बताए।

तर, नेपालका सबै हिमाली गन्तव्यमा सहज यातायात पहुँच नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती रहेको शेर्पाको भनाइ छ। विशेषगरी पश्चिम नेपालका हिमालसम्म पुग्न कठिन र खर्चिलो रहेको उनले बताए। केही गन्तव्यसम्म पुग्न आन्तरिक हवाई यात्रामै करिब ९०० अमेरिकी डलरसम्म खर्च लाग्ने अवस्था रहेको उनको भनाइ छ। हिमाली गन्तव्यसम्म पुग्ने पहुँच सहज बनाउन सके नयाँ क्षेत्रको पर्यटन विकाससँगै स्थानीय बासिन्दाका लागि रोजगारीका अवसर सिर्जना हुने उनले बताए।

सगरमाथाबाट मात्र ६० प्रतिशत रोयल्टी

नेपालमा हिमाल आरोहणबाट संकलन हुने कुल रोयल्टीमा सगरमाथाको योगदान मात्रै करिब ६० प्रतिशत रहेको पर्यटन मन्त्रालयका प्रवक्ता आचार्यले बताए। उनका अनुसार सगरमाथा आरोहणबाट प्राप्त हुने रोयल्टीले नेपालको पर्वतारोहण क्षेत्रको आम्दानीमा महत्वपूर्ण हिस्सा ओगटेको छ।

उनले चालु आरोहण सिजनमा सगरमाथाबाट कति रोयल्टी संकलन हुने भन्ने यकिन विवरण भने तत्काल उपलब्ध नभएको बताए। त्यसका लागि सम्बन्धित विभागबाट तथ्यांक लिनुपर्ने उनको भनाइ छ।

नेपालमा पछिल्लो समय हिमाल आरोहण तथा पदयात्राका लागि विदेशी पर्यटकको आकर्षण कायम रहेको आचार्यले बताए। विशेषगरी मनास्लु क्षेत्रलगायतका हिमाली गन्तव्य विदेशी पर्यटक तथा आरोहीका लागि आकर्षणको केन्द्र बन्दै गएको उनको भनाइ छ।

यद्यपि, पछिल्लो समय भएका विपत्तिका घटनाले नेपालको पर्यटन क्षेत्रमा केही नकारात्मक प्रभाव पारेको पर्वतारोहण संघका अध्यक्ष शेर्पाले बताए। उनका अनुसार विपत्तिपछि विदेशी पर्यटकको बुकिङमा करिब २० देखि ३० प्रतिशतसम्म रद्द भए पनि अपेक्षा गरिएभन्दा बढी पर्यटक नेपाल आएका थिए।

नेपालका हिमाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने प्रयाससँगै पहुँच, पूर्वाधार, सुरक्षा र प्रचारप्रसारमा लगानी बढाउन सके पर्वतारोहण पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ हिमाली क्षेत्रका स्थानीय समुदायसम्म विस्तार गर्न सकिने उनको भनाइ छ।