काठमाडौं। नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक बजारमा सेयरको मूल्य निर्धारण प्रक्रियालाई थप पारदर्शी र बजारमुखी बनाउने तयारी थालेको छ।
बोर्डले यसअघि कार्यान्वयनमा ल्याइसकेको बुक बिल्डिङ विधि र प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रणालीलाई थप व्यवस्थित गर्दै ‘प्राइस डिस्कभरी’ प्रक्रियालाई प्रभावकारी बनाउने गरी नयाँ निर्देशिका तथा कार्यविधिको मस्यौदामा काम गरिरहेको छ।
बोर्ड अध्यक्ष डा. गोपाल भट्टका अनुसार प्राइस डिस्कभरीको उद्देश्य सेयरलाई महँगो मूल्यमा बिक्री गराउनु मात्र नभई कम्पनीको वास्तविक अवस्था, भविष्यको सम्भावना र लगानीकर्ताको मागका आधारमा उचित मूल्य पत्ता लगाउनु हो।
नेपाल क्लिक्ससँग कुरा गर्र्दै अध्यक्ष भट्टले भने ‘हाम्रो प्राथमिकता बजारलाई ‘म्यानुपुलेसन’बाट मुक्त गरी पूर्ण रूपमा पारदर्शी र व्यावसायिक बनाउनु हो। ‘प्राइस डिस्कभरी’ भनेको बजारले नै कम्पनीको वास्तविक हैसियत पहिचान गर्ने प्रक्रिया हो। हामीले बुक बिल्डिङ प्रणालीलाई वैज्ञानिक बनाउन निर्देशिकाको खाका तयार पारिरहेका छौँ।’ चालू आर्थिक वर्षभित्रै ‘प्राइस डिस्कभरी’ प्रणाली लागू गर्ने योजनामा सेबोन रहेको छ।
कमजोर कम्पनीलाई पनि अवसर दिने
बोर्डले अघि बढाउन खोजेको सुधारको महत्वपूर्ण पक्ष भनेको अहिलेको वित्तीय अवस्था मात्र हेरेर कम्पनीलाई पुँजी बजारबाट बाहिर राख्नेभन्दा भविष्यको सम्भावना र व्यवसायिक योजनालाईसमेत मूल्यांकनको आधार बनाउने अवधारणा हो।
कुनै कम्पनी हाल घाटामा रहेको वा नेटवर्थ कमजोर भएको अवस्थामा पनि उसको व्यवसाय पुनरुत्थान गर्ने स्पष्ट योजना, लगानीको आवश्यकता र भविष्यको सम्भावना बलियो छ भने लगानीकर्ताले त्यसलाई मूल्यांकन गरेर पुँजी लगानी गर्न सक्ने वातावरण बनाउने विषयमा बोर्डले काम गरिरहेको छ।
जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ
यसअन्तर्गत निश्चित मापदण्ड पूरा गर्ने कम्पनीलाई भविष्यमा अंकित मूल्यभन्दा कम मूल्यमा समेत सेयर निष्कासन गर्न सकिने सम्भावित व्यवस्थाबारे बोर्डले अध्ययन गरिरहेको छ। तर, यस्तो व्यवस्था अन्तिम रूपमा स्वीकृत भइसकेको भने होइन। नयाँ निर्देशिका तथा कार्यविधिले यसको स्वरूप र सीमा स्पष्ट गर्नेछ।
अध्यक्ष भट्टले ‘प्राइस डिस्कभरी’लाई केवल प्रिमियममा सेयर बिक्री गर्ने माध्यमका रूपमा बुझ्न नहुने बताएका छन्।
‘प्राइस डिस्कभरी भनेको महँगोमा सेयर बेच्ने माध्यम मात्र होइन। कुनै कम्पनी अहिले संकटमा छ, ब्यालेन्स सिट कमजोर छ। तर, भविष्यको भिजन र योजना राम्रो छ भने बजारले त्यसको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था हुनुपर्छ। नयाँ लगानीकर्ता उक्त योजनामाथि विश्वास गरेर लगानी गर्न तयार छन् भने कम्पनीलाई पुनरुत्थान गर्ने बाटो खुल्न सक्छ।’
सं
स्थागत लगानीकर्ताको भूमिका महत्वपूर्ण
बुक बिल्डिङ प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, व्यवसायिक सम्भावना, जोखिम र भविष्यको आम्दानी क्षमताको अध्ययन गरी प्रस्ताव गर्ने भएकाले मूल्य निर्धारण बढी तथ्यमा आधारित हुने बोर्डको अपेक्षा छ।
यसले कम्पनीको मूल्य व्यवस्थापनले मात्र तोक्ने वा निश्चित आधारमा प्रिमियम थपेर निष्कासन गर्ने अभ्यासभन्दा फरक वातावरण सिर्जना गर्न सक्छ। तर, संस्थागत लगानीकर्ताको मूल्यांकन पनि स्वतः सही हुन्छ भन्ने ग्यारेन्टी नहुने भएकाले उनीहरूको योग्यता, जिम्मेवारी र जवाफदेहितासम्बन्धी व्यवस्था पनि महत्वपूर्ण हुनेछ।
प्रिमियम आईपीओमा पनि सुधारको आवश्यकता
पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ निष्कासनको विषयमा विवादित बन्दै आएको छ। यस विषयमा लगानीकर्ताबाटै प्रश्न उठ्दै आएको छ। कम्पनीको वास्तविक वित्तीय अवस्था, मूल्यांकन र भविष्यको सम्भावनाबीच पर्याप्त तालमेल नभएमा उच्च मूल्यमा आईपीओ किन्न बाध्य हुने सर्वसाधारण लगानीकर्ता जोखिममा पर्न सक्छन्।
त्यसैले बोर्डले बुक बिल्डिङमार्फत मूल्य निर्धारण गर्दा कम्पनीको आधारभूत अवस्था, मूल्यांकनको आधार, संस्थागत लगानीकर्ताको मूल्य प्रस्ताव र सर्वसाधारणको हितलाई एकैसाथ ध्यान दिनुपर्ने देखिन्छ।
छ महिनाभित्र नयाँ व्यवस्था ल्याउने तयारी
बोर्डले बुक बिल्डिङ तथा प्राइस डिस्कभरीसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनका लागि प्राविधिक गृहकार्य गरिरहेको जनाएको छ। अध्यक्ष भट्टका अनुसार आगामी पाँचदेखि छ महिनाभित्र निर्देशिका तथा कार्यविधिलाई अन्तिम रूप दिएर कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको छ।
‘निर्देशिकाको मस्यौदामा गृहकार्य भइरहेको छ। आगामी पाँचदेखि छ महिनाभित्र नयाँ व्यवस्था कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको छ। यसले संस्थागत लगानीकर्तालाई थप जिम्मेवार बनाउने र हचुवाका आधारमा मूल्य तोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ।’
नेपालमा बुक बिल्डिङको अभ्यास यसअघि नै सुरु भइसकेको छ। सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको निष्कासन प्रक्रियामा यसको प्रयोग भएको थियो। अबको चुनौती भनेको बुक बिल्डिङलाई केवल प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने माध्यम नभई कम्पनीको वास्तविक मूल्य पत्ता लगाउने प्रभावकारी संयन्त्रका रूपमा स्थापित गर्नु हो।
यदि बोर्डले प्रस्तावित सुधारलाई स्पष्ट मापदण्ड, पर्याप्त सूचना प्रवाह र लगानीकर्ता संरक्षणसँग जोडेर कार्यान्वयन गर्न सकेमा प्राथमिक बजारमा मूल्य निर्धारणको विश्वसनीयता बढ्न सक्नेछ। विशेषगरी पुँजीको अभावमा रहेका तर भविष्यको स्पष्ट योजना भएका कम्पनीलाई बजारबाट स्रोत जुटाउने अवसर दिन सकिने हो भने यसले नेपालको पुँजी बजारको दायरा पनि फराकिलो बनाउन सक्छ।
