२०८३ भदौ ३० गते मङ्गलबार

कानुनले नै गोप्य राख्ने संवेदनशील जानकारी छताछुल्ल पारियो, कानुनी उपचार खोज्छौँ: एनसेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
ncell

काठमाडौँ: एनसेलले कानुनले नै गोप्य राख्ने आफ्ना संवेदनशील जानकारी छताछुल्ल पारिएको भन्दै सरकारको निन्दा गरेको छ। कम्पनीसँग सम्बन्धित टङ्कमणि शर्मा दंगालको संयोजकत्वमा भएको छानबिन समितिको प्रतिवेदन ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको भन्दै कम्पनीले आपत्ति जनाएको हो।

सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक नगरिएको भर सञ्चारमाध्यमबाट संवेदशनशील जानकारी छताछुल्ल पारिएको एनसेलको भनाइ छ। नेपालको संविधानले दिएको गोपनीयताको हकलाई हनन गर्दै सो प्रतिवेदन सार्वजनिक भएको निष्कर्ष कम्पनीको छ। सरकारको  उक्त कदमको घोर भर्त्सना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा सन्धि सम्झौता अनुसार कानुनी उपचार खोज्ने चेतावनी कम्पनी दिएको छ।

साथै यो कार्यले अन्तर्राष्ट्रिय स्तरमा सरकार लगानीकर्ताको गोपनीयता तथा तथ्याङ्कको गोपनीयतामा कटिबद्ध नभएको सन्देश गएको भन्दै एनसेलले भनेको छ,  ‘विदेशी लगानीको वातावरणलाई थप धमिलो पार्ने काम भएको छ। साथै सम्बन्धित व्यक्तिको मन्जुरी बिना कानुनले गोप्य राख्ने कुराहरू प्रकाशन गर्नु प्रचलित कानुन बमोजिम फौजदारी कसुर भएको कुरालाई समेत हेक्का नराखी सार्वजनिक गरिनु अत्यन्तै खेदजनक कार्य हो।’

एनसेलको विज्ञप्ति

नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले मिति २०८३।४।२६ मा गरेको भनिएको निर्णय र मिति २०८३।४।२७ मा सोही निर्णयका आधारमा यस कम्पनीसँग सम्बन्धित टङ्कमणि शर्मा दंगालको संयोजकत्वमा भएको छानबिन समितिको प्रतिवेदन ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक भएको भन्ने समाचारहरू प्रकाशित भएका छन्। सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने बहानामा कानुनले नै गोप्य राख्ने संवेदनशील जानकारीहरू छताछुल्ल पार्दै उक्त प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हाम्रो जानकारीमा आएको छ।

नेपालको संविधानले दिएको गोपनीयताको हकलाई हनन गर्दै सो प्रतिवेदन सार्वजनिक भएकोमा यस कम्पनी सरकारको यो कदमको घोर भर्त्सना गर्दछ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा सन्धि सम्झौता अनुसार कानुनी उपचार खोज्ने हक सुरक्षित राखेको स्पष्ट पार्दछ ।

यो कार्यले अन्तर्राष्ट्रिय स्तरमा सरकार लगानीकर्ताको गोपनीयता तथा तथ्याङ्कको गोपनीयतामा कटिबद्ध छैन भन्ने सन्देश गएको छ । यसबाट विदेशी लगानीको वातावरणलाई थप धमिलो पार्ने काम भएको छ । साथै सम्बन्धित व्यक्तिको मन्जुरी बिना कानुनले गोप्य राख्ने कुराहरू प्रकाशन गर्नु प्रचलित कानुन बमोजिम फौजदारी कसुर भएको कुरालाई समेत हेक्का नराखी सार्वजनिक गरिनु अत्यन्तै खेदजनक कार्य हो ।

उक्त छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने भनी सार्वजनिक हक र सरोकारको विषयमा परेको रिट निवेदन उच्च अदालतबाट मिति २०८३।३।३१ मा खारेज भएको र सो खारेज फैसला अन्तिम भइरहेको अवस्थामा सोको विपरीत हुने गरी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्नु र सो प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सम्मानित अदालतको आदेश प्रतिकुल भई न्यायिक मर्यादा र अदालतको निर्णय, फैसला पालना गर्नु पर्ने संवैधानिक र कानुनी दायित्वको गम्भीर उल्लङ्घन हो। सम्मानित अदालतबाट गोपनीय ठहर भएको उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय र सार्वजनिक हुनु एक ऐतिहासिक दुर्भाग्यपूर्ण घटना हो ।

सत्य तथ्य छानबिन गर्नको लागि गठन गरिएको छानबिन समितिले अध्ययन तथा छानबिनको क्रममा सङ्कलन गरेका सूचना, विवरण तथा जानकारी समेत गोपनीय हुन्छन् । नेपाल सरकारले ती सूचना, विवरण तथा जानकारीहरू लिई सम्बन्धित घटना वा कार्य वा कारोबारको सम्बन्धमा कुनै कसुर भए नभएको यकिन गर्न, त्यसमा थप अनुसन्धान गर्न, अभियोजन गर्न प्रयोग गर्न सक्दछ। तर, सर्वसाधारण सबैको पहुँच पुग्ने गरी प्रकाशन, उपलब्ध गराउन सक्दैन। यसो गर्न कुनै कानुनले अख्तियारी दिएको छैन।

कुनै पनि कम्पनी र यसको लगानी तथा व्यवसायीक विषय, सूचना, जानकारी तथा विवरणहरू कानुनद्वारा नै गोपनीय हुन्छन्। छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएकोले यस कम्पनीलाई नेपालको संविधानको धारा २८ ले प्रदान गरेको गोपनीयताको हक, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा १० को सम्पत्तिको गोपनीयताको हक, धारा ११ को लिखतको गोपनीयताको हक, दफा १२ को तथ्याङ्कको गोपनीयताको हक, दफा १३ को पत्राचारको गोपनीयताको हक, धारा १५ ले प्रदान गरेको चरित्रको गोपनीयताको हक, दफा १९ को विद्युतीय माध्यमको गोपनीयताको हक, आयकर ऐन, २०५८ को दफा ७४ र मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ३७ ले प्रदान गरेको करदाताको गोपनीयताको हक हनन हुन पुगेको स्पष्ट पार्न चाहन्छौँ। साथै सरकारको यो कदमले यस कम्पनीका शेयर धनी, सञ्चालक तथा हिताधिकारीहरु समेतको मौलिक हक र कानुनी हकको हनन गरेको जानकारी गराउन चाहन्छौँ ।

उक्त विवरणलाई सार्वजनिक गर्नको लागि विधायिका निर्मित कानुनको अख्तियारी, उचित कारण र औचित्य पुष्टि गर्न सक्नु पर्ने थियो। संविधानको धारा २८ द्वारा प्रदत्त हकलाई संरक्षण गर्न तथा व्यक्तिको गोपनीयताको हक र अधिकारमाथिको पहुँचलाई थप व्यवस्थित गर्नको लागि विधायिकाले वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ लागू गरेको छ। यस ऐनमा भएको प्रावधान अनुसार व्यक्तिको सम्पत्ति, लिखत, तथ्याङ्क, कारोबारको विवरण सम्बन्धित व्यक्तिमा निहित रहन्छ। त्यस्ता विवरणहरू सम्बन्धित व्यक्तिको स्वीकृति बिना प्रकाशित नगरिने विधायिकी प्रतिबद्धता विपरीत सरकारले ती सूचना तथा जानकारीहरू सार्वजनिक गर्न, तेस्रो व्यक्तिको पहुँच दिन तथा अन्य कुनै तरिकाले सर्वसाधारणले थाहा जानकारी पाउन सक्ने गरी कुनै व्यवस्था गर्न सक्दैनन्, त्यो संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरीत छ ।

छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुँदा सरकारले प्रदान गरेको संवैधानिक र कानुनी प्रतिबद्धता र विश्वसनीयता समेतको उल्लङ्घन (Breach of Trust and Confidence) भएको छ । लोकतान्त्रिक राज्य प्रणाली र कानुनको शासनमा यो पूर्णपुरमा वर्जित छ । राज्यले कानुन बनाई व्यक्तिको सम्पत्ति, कारोबार, लिखत गोपनीय रहन्छन् भन्ने प्रत्याभूति प्रदान गरेको सो प्रावधान प्रतिकुल राज्यबाट भएको कार्य सर्वथा कानुनको उपहास हो ।

वैयक्तिक गोपनीयता सम्बन्धी ऐनले वर्जित गरेका कुराहरू भए वा गरेमा भए गरेपछि कसुरदारलाई सजाय गर्न, क्षतिपूर्ति माग गर्ने मुद्दा गर्न सक्ने व्यवस्था भएकोले यस सम्बन्धमा कम्पनीले आवश्यक निर्णय लिने कुरा पनि जानकारी गराउन चाहन्छौँ। यस कम्पनीसँग सम्बन्धित विविध गोप्य जानकारीहरूको गोप्यता भङ्ग भएकोले सरकारको यो कदमले यस कम्पनीलाई अपूरणीय क्षति पुर्‍याएको छ। यसले कम्पनी तथा यसका शेयर धनी, सञ्चालक तथा हितग्राहीहरुले सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक र व्यापार व्यवसाय गर्ने स्वतन्त्रताको हक समेत कुण्ठित भएको छ।

सरकारको यो कदमले लगानीकर्ताहरूको विश्वास गुमाउने भएकोले लगानी र व्यवसायको प्रवर्धनमा ठूलो अवरोध आउँछ र दीर्घकालमा देशले क्षति नै क्षति भोग्नुपर्ने देखिएको समेत स्पष्ट पार्न चाहन्छौँ ।

प्रकाशित: २०८३ साउन २८ गते बिहिबार १२:३४
प्रतिक्रिया

थप समाचार

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

ह्युन्डाईको दसैं–तिहार अफर: ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका

काठमाडौँ: ह्युन्डाई नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभल ड्राइभ २०८३’ अफर सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन...

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना