२०८३ कार्तिक १९ गते बुधबार

नाडा शोमा नेपालमै एसेम्बल्ड सवारीलाई विशेष प्राथमिकता दिन्छौँ: अध्यक्ष उप्रेती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
surendra_uprety

काठमाडौँ: नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ‘नाडा अटो शो २०२६’लाई सवारीसाधन बिक्रीको प्रदर्शनीमा मात्र सीमित नगरी अटोमोबाइल क्षेत्रको समग्र इकोसिस्टम प्रदर्शन गर्ने थलोका रूपमा प्रस्तुत गर्ने भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटकको प्रदर्शनीमा सवारीसाधनसँगै पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, बीमा, बैंक तथा वित्तीय सेवा, बिक्रीपछिको सेवा र नयाँ प्रविधिसहित अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षलाई एउटै छानामुनि ल्याइनेछ।

‘नाडा व्यापार गर्नका लागि मात्रै आयोजना हुने प्रदर्शनी होइन,’ उप्रेतीले भने, ‘नयाँ आविष्कार, प्रविधिको विकास र आगामी दिनमा अटोमोबाइल क्षेत्र कुन दिशातर्फ जान्छ भन्ने कुरा उपभोक्तालाई देखाउनु हाम्रो मुख्य उद्देश्य हो।’

उनका अनुसार यसपटकको शोमा २०० भन्दा बढी स्टल रहनेछन्। विभिन्न ब्रान्डले नयाँ मोडल तथा उत्पादन सार्वजनिक गर्ने तयारी गरेका छन्। कुन ब्रान्डले कुन समयमा नयाँ उत्पादन सार्वजनिक गर्ने भन्ने विस्तृत विवरण भने आयोजकले छुट्टै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।

यसपटकको नाडा अटो शोमा नेपाली उत्पादन तथा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने भएको छ। नेपालमै उत्पादन भएको तथा एसेम्बल गरिएका सवारीसाधनलाई प्रदर्शनीमा राखिने उप्रेतीले बताए।

उनका अनुसार नेपालमै पूर्ण उत्पादन भएको यात्री मोटरसाइकलसमेत शोमा सार्वजनिक गर्ने तयारी छ। नेपाली उद्योगले सवारीसाधन उत्पादन तथा एसेम्बलीमा गरेको लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय उत्पादनलाई प्रदर्शनीमा प्राथमिकता दिइएको उनको भनाइ छ।

नेपालमा सवारीसाधन एसेम्बली तथा उत्पादनको सम्भावना विस्तार हुँदै गएको भन्दै उप्रेतीले यस्ता उद्योगलाई दीर्घकालीन नीति र स्थायित्व दिन सके बहुराष्ट्रिय कम्पनीलाई समेत नेपालमा आकर्षित गर्न सकिने बताए।

पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी)को हिस्सा बढ्दै गएको छ। पेट्रोल तथा डिजेलमा आधारित सवारीसाधनको तुलनामा ईभीप्रति उपभोक्ताको आकर्षण बढिरहेको उप्रेतीले बताए।

तर ईभीको बढ्दो संख्यासँगै पर्याप्त चार्जिङ पूर्वाधार निर्माण हुन नसक्नु प्रमुख चुनौतीका रूपमा रहेको उनको भनाइ छ। नेपालभर दुई हजारभन्दा बढी चार्जिङ स्टेसन निर्माण भइसके पनि बढ्दो ईभीका लागि हालको पूर्वाधार पर्याप्त नभएको उनले बताए।

ईभी आयातकर्ताले आवश्यकता अनुसार विभिन्न स्थानमा फास्ट चार्जर जडान गरिरहेको र नेपाल विद्युत् प्राधिकरणले समेत देशका विभिन्न स्थान तथा राजमार्गमा चार्जिङ पूर्वाधार विस्तार गरिरहेको उनले जानकारी दिए।

‘चार्जिङ स्टेसन बन्नै नसकेको अवस्था होइन, तर अहिलेको आवश्यकताका तुलनामा पर्याप्त छैन,’ उनले भने, ‘ईभीको संख्या बढ्दै जाँदा चार्जिङ पूर्वाधार पनि क्रमिक रूपमा विस्तार हुँदै जानुपर्छ।’ उप्रेतीका अनुसार ईभी अहिलेको बजारको प्रमुख प्रवृत्ति भए पनि अटोमोबाइल प्रविधि निरन्तर परिवर्तन हुने भएकाले आगामी पाँचदेखि १० वर्षमा आउन सक्ने नयाँ प्रविधिलाई समेत नाडा अटो शोमा समेट्ने प्रयास गरिएको छ।

अटोमोबाइल बजार सुधारको बाटोमा
अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल बजार क्रमिक रूपमा सुधारको बाटोमा रहेको बताए। पछिल्लो समय बजारमा सुधारका संकेत देखिन थालेको उनको भनाइ छ। सरकारले हालै ल्याएको बजेट तथा मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन आयात तथा व्यवसायलाई केही सहज बनाएको उनले बताए।

लामो समयदेखि अटोमोबाइल क्षेत्रले उठाउँदै आएको कर, आयात तथा वित्तीय सुविधासम्बन्धी विषयमा पछिल्लो बजेटले केही सम्बोधन गरेको उनको भनाइ छ। ठूला सवारीसाधनका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सहज बनाउनुपर्नेमा उनले जोड दिए। साथै, सवारीसाधन खरिदमा कर्जाको ‘लोन टु भ्यालु’ (एलटीभी) अनुपात बढाउनुपर्ने मागसमेत उनले राखे।

‘एलटीभी अनुपातलाई केही बढाएर सवारीसाधन खरिद सहज बनाउने र निश्चित अवधिका लागि ब्याजदरमा सहुलियत दिने व्यवस्था भयो भने यसले बजारलाई थप चलायमान बनाउन सक्छ,’ उनले भने। उनका अनुसार यसबाट सवारीसाधन खरिद गर्न चाहने उपभोक्तालाई सहज हुनुका साथै बैंकिङ प्रणालीमा रहेको रकम पनि अटोमोबाइल क्षेत्रमा परिचालन हुन सक्छ।

एसेम्बली उद्योगलाई दीर्घकालीन नीति आवश्यक
नेपालमा सवारीसाधन एसेम्बली उद्योगमा लगानी बढ्दै गएको उल्लेख गर्दै उप्रेतीले यस क्षेत्रलाई दीर्घकालीन स्थायित्व दिन सरकारको नीति महत्वपूर्ण हुने बताए। नेपालमा दुईपांग्रे सवारीसाधनको एसेम्बली तथा स्थानीय उत्पादनको हिस्सा उल्लेख्य रहेको उनको भनाइ छ।

यस्ता उद्योगलाई स्पष्ट र स्थिर नीति दिएमा आगामी दिनमा थप लगानी भित्र्याउन सकिने उनले बताए। उनका अनुसार नेपालमा उत्पादन तथा एसेम्बलीको वातावरण बने बहुराष्ट्रिय कम्पनीहरूलाई समेत नेपालमा लगानी गर्न आकर्षित गर्न सकिन्छ।

अटो शो एउटा ठूलो आर्थिक इकोसिस्टम
उप्रेतीले नाडा अटो शो अटोमोबाइल क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रसँग जोडिएको कार्यक्रम भएको बताए। सवारीसाधन बिक्रीसँगै बिक्रीपछिको सेवा, बीमा, बैंक तथा वित्तीय सेवा, मिडिया, यातायात, होटल तथा खाद्य व्यवसायलगायत धेरै क्षेत्र यससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने उनको भनाइ छ।

‘अटो शो एउटा सवारीसाधन बिक्री गर्ने ठाउँ मात्र होइन, यससँग जोडिएको सम्पूर्ण इकोसिस्टम एउटै ठाउँमा देखिन्छ,’ उनले भने।

उनका अनुसार अटोमोबाइल क्षेत्रले सरकारलाई राजस्व संकलन तथा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ। त्यसैले अटोमोबाइल क्षेत्रलाई नीतिगत रूपमा स्थिरता र सहजीकरण आवश्यक रहेको उनले बताए।

सडक सुरक्षा र सीप विकासमा पनि जोड
नाडाले व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको उप्रेतीले बताए। ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

अनावश्यक हर्नको प्रयोग नगर्ने, जोखिमपूर्ण ओभरटेक नगर्ने तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्नेलगायतका विषयमा चालकलाई सचेत गराउने काम भइरहेको उनले बताए। त्यसैगरी अटोमोबाइल क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न संघसंस्थासँग सहकार्य गरी सीपमूलक तालिम सञ्चालन भइरहेको उनले बताए। तालिम लिएका जनशक्तिलाई रोजगारीसँग जोड्ने प्रयाससमेत भइरहेको उनको भनाइ छ।

उप्रेतीले भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोमा उपभोक्तालाई सहभागी हुन आग्रह गरेका छन्। एउटै छानामुनि विभिन्न ब्रान्ड, नयाँ प्रविधि र अटोमोबाइलसँग सम्बन्धित सेवा उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आवश्यकता, सवारीसाधनको क्षमता तथा बिक्रीपछिको सेवाबारे बुझेर मात्र खरिद निर्णय गर्नुपर्ने उनले बताए।

प्रकाशित: २०८३ साउन २८ गते बिहिबार ०३:०३
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना