काठमाडौँः अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा यसको असर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई परेको छ।
विनिमय दरमा भएको उतारचढावका कारण कम्पनीले गत आर्थिक वर्षमा मात्र २० करोड २ लाख रुपैयाँ बराबरको वैदेशिक विनिमय नोक्सानी व्यहोरेको छ। विदेशी विनिमय नोक्सानको असरले रिलायन्सको नाफामा दबाब परेको छ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार, अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा कम्पनीको वैदेशिक विनिमय नोक्सानी ५ करोड २ लाख रुपैयाँ मात्र थियो। यस वर्ष डलरको भाउ बढेसँगै बढेको हो। अमेरिकी डलरसँग नेपाली रुपैयाँ १२.३९ प्रतिशत अवमूल्यन भएको कम्पनीले जनाएको छ।
जसमध्ये ८.१० करोड डलर कर्जाको पुनर्मूल्यांकनबाट सिर्जित गैरनगद (अनरियलाइज्ड) प्रकृतिको भएको रिलायन्सले जनाएको छ। कम्पनीले कच्चा पदार्थ खरिदलगायतका प्रयोजनका लागि डलरमा आधारित ऋण लिएको हुँदा विनिमय दरमा आएको परिवर्तनले कम्पनीको वित्तीय विवरणमा प्रत्यक्ष प्रभाव पारेको जनाएको छ। भारतीय रुपैयाँ (भारु) पनि डलरसँग १० प्रतिशत अवमूल्यन भएको छ।
यस अवधिको खुद नाफामा परेको मुख्य असर यही विदेशी विनिमय हानि भएको कम्पनीले जनाएको छ। कम्पनीको सञ्चालन कार्यसम्पादन तथा तरलता स्थिति सुदृढ रहेको छ। विदेशी मुद्रा जोखिम बहन गर्न हेजिङ व्यवस्था अवलम्बन गर्न सक्रिय रूपमा कार्य गरिरहेको रिलायन्सले जनाएको छ।
पछिल्ला वर्ष डलर झनै बलियो भएपछि विदेशमा निर्यात गर्ने उद्योग र पुँजीगत वस्तु (क्यापिटल गुड्स) आयात गर्ने उद्योगहरुमा पनि डलरको भाउ वृद्धिले असर पर्दै आएको छ। विदशबाट तोरी, भटमासलगायत आयात गरेर खानेतेल उत्पादन गर्ने तेल उद्योग, जिप्सम आयात गर्ने सिमेन्ट र बिलेट बनाउन आवश्यक पिगआइरन आयात गर्ने स्टिलमा पनि डलरको भाउले असर परेको सम्बद्ध उद्योगीहरुले बताउँदै आएका छन्।
विनिमय नोक्सानी बढेपछि कम्पनीको खुद नाफामा समेत असर परेको छ। अघिल्लो आर्थिक वर्षमा ४७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आर्थिक वर्षमा ३९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।
यसरी कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ७ करोड ६८ लाख रुपैयाँले घटेको वित्तीय विरणमा उल्लेख छ।कम्पनीको वित्तीय विवरणले देखाएको मुख्य चुनौतीमध्ये अमेरिकी डलरको विनिमय दरमा आएको वृद्धि पनि एक हो।
आम्दानी भने बढ्यो
डलरको उतारचढावले नाफामा दबाब सिर्जना गरे पनि कम्पनीको मुख्य व्यवसायबाट हुने आम्दानीमा भने सुधार देखिएको छ।
कम्पनीले समीक्षा अवधिमा १० अर्ब ४५ करोड ९६ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ थियो।
यसले कम्पनीको व्यवसायिक कारोबारमा विस्तार भएको देखाउँछ। तर कच्चा पदार्थको लागत, प्रशासनिक खर्च तथा अन्य सञ्चालन खर्च बढ्दा सञ्चालन नाफामा भने दबाब परेको छ।
कम्पनीको सञ्चालन नाफा यस वर्ष करिब ७४ करोड रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यो १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी थियो। उद्योगले भारत र टर्कीमा ठूलो परिमाणमा धागो निर्यात गर्दै आएको छ।
डलरको जोखिम घटाउन हेजिङतर्फ ध्यान
रिलायन्स स्पिनिङको पछिल्लो वित्तीय विवरणले कम्पनीका लागि वैदेशिक मुद्रा जोखिम व्यवस्थापन अब झन् महत्वपूर्ण बन्दै गएको देखाएको छ। डलरमा आधारित ऋण तथा कच्चा पदार्थ खरिदसँग जोडिएको दायित्वका कारण डलर महँगिँदा कम्पनीको लागत र वित्तीय विवरणमा प्रत्यक्ष दबाब पर्न सक्छ।
यस्तो जोखिम कम गर्ने प्रमुख उपायमध्ये हेजिङ एक हो। भविष्यमा डलरको मूल्यमा हुन सक्ने प्रतिकूल परिवर्तनबाट हुने सम्भावित नोक्सानी घटाउन निश्चित वित्तीय व्यवस्थामार्फत विनिमय दरको जोखिम व्यवस्थापन गर्ने प्रक्रियालाई हेजिङ भनिन्छ।
यसको अर्थ, कम्पनीले भविष्यमा गर्नुपर्ने डलर भुक्तानीको विनिमय दरलाई निश्चित वा सुरक्षित गर्न सकेमा डलर अचानक महँगिँदा हुने अतिरिक्त लागत तथा विनिमय नोक्सानीलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।
रिलायन्स स्पिनिङको जस्तो डलर जोखिम सामना गर्ने उद्योगका लागि नेपालमा हेजिङसम्बन्धी सेवा विस्तार हुनु थप महत्वपूर्ण बन्न सक्छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशी ऋण वा लगानीसँग सम्बन्धित विनिमय जोखिम न्यूनीकरण गर्न हेजिङ सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ।
नेपालमा हेजिङसम्बन्धी कानुनी व्यवस्था यसअघि नै रहे पनि सरकारले सेवा विस्तारलाई थप प्रभावकारी बनाउने दिशामा अघि बढाएको देखिन्छ। हाल नेपाल राष्ट्र बैंकको आधिकारिक कानुनी अभिलेखमा हेजिङ नियमावली, २०७९ समेत उपलब्ध छ। उक्त नियमावलीले हेजिङ सुविधा तथा हेजिङ सेवा उपलब्ध गराउने संस्थासम्बन्धी व्यवस्था गरेको छ।
यसकारण नेपालमै हेजिङ सेवा प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेमा डलरमा ऋण लिने, विदेशी लगानी तथा वैदेशिक कारोबार गर्ने उद्योगका लागि विनिमय जोखिम व्यवस्थापनको विकल्प थप बलियो हुन सक्छ।
विद्युत महसुल विवाद पनि चुनौती
कम्पनीले नेपाल विद्युत प्राधिकरणसँगको डेडिकेटेड तथा ट्रंक लाइन विद्युत महसुल विवादलाई पनि वित्तीय विवरणमा उल्लेख गरेको छ।
प्राधिकरणले कम्पनीसँग ७५ करोड ३६ लाख रुपैयाँ बक्यौता माग गरेपछि कम्पनीले त्यसविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेको छ। उक्त विवादको अन्तिम टुंगो लाग्न बाँकी रहेकाले यसले कम्पनीको वित्तीय व्यवस्थापनमा थप अनिश्चितता सिर्जना गरेको छ।
त्यस्तै,कम्पनीको प्रति सेयर आम्दानी (इपीएस) २२.०४ रुपैयाँ, प्रति सेयर नेटवर्थ ५०३.३२ रुपैयाँ र तरलता अनुपात २.०७ रहेको छ।


