काठमाडौँः प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा २८.४९ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको हो।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.३० प्रतिशत वृद्धि हुँदै ९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, इम्पेरमेन्ट चार्जमा उल्लेख्य कमी आएको छ। गत वर्ष २ अर्ब ७२ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर यस वर्ष १ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ।
खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेरमेन्ट चार्जमा आएको कमीले बैंकको नाफा बढाउन महत्वपूर्ण योगदान गरेको देखिन्छ। यस अवधिमा बैंकको सञ्चालन नाफा पनि २६.९४ प्रतिशत बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यस आधारमा वितरणयोग्य प्रतिसेयर नाफा ९ रुपैयाँ १० पैसा कायम भएको छ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ६३ पैसा रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा पुगेको छ।
बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड रुपैयाँ रहेको छ। जगेडा कोष (रिजर्भ) मा १५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने ६.६९ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।


