काठमाडौँ: भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयुभी इ–मास ५ र इ–मास ७ प्रति अवलोकनकर्ताको चासो देखिएको छ।
एक्स्पोको हल ‘बी’ स्थित स्टल ‘एल–६’ मा राखिएका दुवै मोडल अवलोकन गर्न तथा मूल्य, विशेषता, स्वामित्व र बुकिङका विकल्पबारे जानकारी लिन ग्राहकहरू स्टलमा पुगेका थिए।
भर्खरै सार्वजनिक गरिएको प्रोटोन इ–मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३६ लाख ९९ हजार रुपैयाँ रहेको छ। रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित इ–मास ५ मा १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, भेहिकल–टु–लोड (भीटूएल) प्रविधि र जि–ट्र्याक्सन कन्ट्रोल सिस्टमलगायतका सुविधा छन्।
यसैगरी, प्रोटोन इ–मास ७ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। यसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। प्राइम भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ। यसले डब्लुएलटीपी परीक्षणअनुसार करिब ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। इ–मास ७ मा एडास प्रविधि र १५.४ इन्चको डिस्प्ले पनि उपलब्ध छन्।
जगदम्बा मोटर्सले एक्स्पोमार्फत दुवै मोडलका विशेषता तथा बुकिङ विकल्पबारे ग्राहकलाई जानकारी दिएको जनाएको छ।
नाइमा एक्स्पोमा सहभागी हुन नसकेका ग्राहकलाई कम्पनीले आगामी ‘नाडा अटो शो २०२६’ मा प्रोटोनका गाडी अवलोकन गर्न आग्रह गरेको छ। नाडा अटो शोमा हल ४ को स्टल नम्बर जी–१५ मा प्रोटोनका मोडलहरू प्रदर्शनमा राखिने तथा ग्राहकका लागि थप अफर सार्वजनिक गरिने कम्पनीले जनाएको छ।


