नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटकको प्रदर्शनीमा नेपालमै एसेम्बल भएका सवारीलाई प्राथमिकता दिइने
काठमाडौँ: शिथिल अर्थतन्त्र र बजार मागमा आएको कमीका कारण गत वर्ष भदौ २३–२४ गते भएको जेनजी आन्दोलनपछि व्यापारका लागि उपयुक्त समय मानिने दशैँ–तिहारमा पनि अटोमोबाइल क्षेत्र पहिलेजस्तो चलायमान हुन सकेन। त्यसपछि पनि सामान्य देखिएको बजार यतिवेला भने गतिशील भएको छ।
भृकुटीमण्डपमा आइतबार समापन नाइमा मोबिलिटी एक्स्पोले बजारमा उत्साहजनक संकेत देखाएको छ। ६ दिनसम्म चलेको उक्त मेलामा करिब ४ हजार सवारीसाधनको बुकिङ भएको छ, जसमा १ हजार २०० वटा दुईपांग्रे सवारी रहेका छन्। नाइमामा १ लाख ८० हजार बढी दर्शकले अवलोकन गरेका थिए।
नाइमा एक्सपोले चलायमान बनाएको बजार आगामी सातादेखि सुरु हुन लागेको नाडा अटो शो हुँदै चाँडपर्वसम्मै उत्साहजनक हुने अपेक्षा व्यवसायीहरूको छ। अटोमोबाइलमा चासो राख्ने ग्राहको नजर आगामी भदौ ९ गतेदेखि हुने नाडा अटो शोतर्फ सोझिएको छ।
आफ्नो स्थापनाको स्वर्ण जयन्ती (५० वर्ष) मनाउँदै गरेको नाडाले यसपटकको शोलाई निकै विशेष बनाउने तयारी गरेको छ। अघिल्लो संस्करणमा फ्लाईइङ कार प्रदर्शन गरेर चर्चा कमाएको आयोजकले यस वर्षका आकर्षणबारे नाडाले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउँदैछ। नयाँ विशेष के हुँदैछ भन्ने औपचारिक जानकारी नाडाले गराउने भए पनि अटो शोमा सहभागी हुने विक्रेताहरूले नाडालाई लक्षित गरेर केही नयाँ मोडलको घोषणा गरिसकेका छन्।
नेपाली सडकमा लामो समय राज गरेको सिएरा ब्राण्ड अब पूर्ण विद्युतीय अवतारमा देखिँदैछ। टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले यसलाई प्रिमियम श्रेणीको ईभीका रूपमा भित्र्याउन लागेको हो। यो गाडी ६३ र ७५ किलोवाट आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। यसको रेन्ज निकै लोभलाग्दो छ— एक पटकको फूल चार्जमा यसले ६६५ किलोमिटरसम्मको यात्रा तय गर्ने दाबी गरिएको छ। छिटो चार्ज हुने प्रविधिका कारण १५ मिनेटको चार्जिङले २६३ किलोमिटरको यात्रा सुनिश्चित गर्नेछ।
अफरोड यात्रा र साहसिक ड्राइभिङ मन पराउनेहरूका लागि जेटोर टी-२ नाडामा देखिँदैछ। यो मोडल प्लग-इन हाइब्रिड प्रविधिमा आधारित छ, जसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र विद्युतीय मोटरको फ्युजन गरिएको छ। यसको मुख्य विशेषता भनेको सहरभित्र विशुद्ध विद्युतीय मोडमा चलाउन सकिने र लामो यात्रामा पेट्रोल इन्जिनको प्रयोग गर्न सकिने सुविधा हो।
मध्यम बजेट र आधुनिक प्रविधि खोज्नेहरूका लागि चांगानले नेभो क्यू-०५ ल्याउँदैछ। यसलाई ५५ लाख रुपैयाँ मुनिको सेग्मेन्टमा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
यस्तै प्रोटोनका इलेक्ट्रिक एसयुभी इ–मास ५ र इ–मास ७ नाडामा प्रदर्शन हुनेछन्।
भदौ ९ देखि सुरु हुने १८औँ संस्करणको नाडा अटो शो भदौ २४ गतेसम्म भृकुटीमण्डपमा चल्नेछ। अटो शोमा २०० वटा स्टलहरू रहनेछन् भने २२ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १६ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन प्रदर्शनीमा देखिपनेछन्। यसबाहेक ८ वटा नेपाली उत्पादकहरूसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्नेछन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटकको प्रदर्शनीमा नेपालमै एसेम्बल भएका सवारीलाई प्राथमिकता दिइने


