काठमाडौँ: नेपालका लागि डोङफेङ मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चिनियाँ विद्युतीय सवारी (ईभी) उत्पादक डोङफेङको नयाँ संस्करण ‘नामी भिगो ई–२’ फुल एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
बुधबार ललितपुरमा एक समारोहका बीच एमएडब्लु समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र डोङफेङका वैदेशिक क्षेत्रीय प्रबन्धक झु क्विङले संयुक्त रूपमा उक्त गाडी सार्वजनिक गरेका हुन्।
सन् १९६४ मा विराटनगरबाट एउटा सानो वर्कसपको रूपमा यात्रा सुरु गरेको एमएडब्लुले ६ दशकको यात्रा पूरा गरी आज नेपालको अटोमोबाइल र इन्जिनियरिङ क्षेत्रकै सबैभन्दा ठूलो व्यावसायिक घरानाको रूपमा आफूलाई स्थापित गरेको छ। सोही ऐतिहासिक विरासतलाई अझ सुदृढ बनाउँदै कम्पनीले नेपाली ग्राहकका लागि किफायती मूल्यमा अत्याधुनिक एसयूभी भित्र्याएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अग्रवालले एमएडब्लु सधैं मूल्यमान्यतामा आधारित व्यावसायिक अभ्यासमा अडिग रहेको बताए। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुलमा गरेको समायोजनको प्रत्यक्ष लाभ ग्राहकलाई दिने उद्देश्यले गाडीको मूल्य निकै प्रतिस्पर्धी राखिएको अग्रवालले बताए।
‘हामीसँग भन्सार छुटबाट प्राप्त भएको लाभलाई नाफाको रूपमा राख्ने विकल्प थियो, तर हाम्रो मुख्य उद्देश्य ग्राहक केन्द्रित हुनु हो,‘अग्रवालले भने,‘त्यसैले हामीले डोङफेङसँगको सहकार्यमा ह्याचब्याक गाडीकै मूल्यमा एउटा पूर्ण एसयूभीको अनुभव दिने गरी नामी भिगो ई–२ बजारमा ल्याएका छौं।’
उनका अनुसार यो गाडी केवल सहरका लागि मात्र नभई नेपालका मनाङ, मुस्ताङ र सोलुखुम्बु जस्ता कठिन भौगोलिक क्षेत्रमा समेत सफलतापूर्वक परीक्षण भइसकेको छ। विद्युतीय सवारीको विश्वव्यापी रूपान्तरणमा डोङफेङको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अग्रवालले नेपालमा पनि ईभीको प्रयोग उत्साहजनक रूपमा बढिरहेको बताए।
पछिल्लो तथ्यांकअनुसार नेपालमा ईभीको प्रवेश दर ७० प्रतिशतबाट बढेर ८५ प्रतिशत पुगिसकेको छ, जुन विश्वमै दोस्रो उच्च हो। बजारमा माग उच्च रहे पनि विश्वव्यापी रूपमा ब्याट्रीको अभाव र तीव्र मागका कारण आपूर्तिमा केही दबाब रहेको उनको भनाइ छ।
हाल नामी भिगोका लागि ४५ दिनभन्दा बढीको बुकिङ रहेको र दशैँसम्म माग अझै बढ्ने देखिएकाले इच्छुक ग्राहकलाई बेलैमा बुकिङ गर्न उनले आग्रह समेत गरे। विगत ३२ वर्षदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय अग्रवालले जसरी पहिले आइस इन्जिनमा ह्याचब्याकबाट एसयूभीमा बजार सरेको थियो, त्यसरी नै ईभीमा पनि अब फुल एसयूभीकै वर्चस्व हुने विश्वास व्यक्त गरे।
डोङफेङका क्षेत्रीय प्रबन्धक झु क्विङले सन् १९६९ मा स्थापना भएको डोङफेङले हालसम्म ६ करोडभन्दा बढी सवारीसाधन उत्पादन गरिसकेको जानकारी दिईन्। सन् २०२४ सम्ममा १ सयभन्दा बढी देशमा उपस्थिति जनाइसकेको यो ब्राण्ड नेपालमा एमएडब्लु वृद्धिसँगको साझेदारीप्रति निकै विश्वस्त देखिएको छ। ‘नेपालका कठिन सडक र उचाइका लागि बलियो गाडी आवश्यक पर्छ, त्यसैले हामीले विगोलाई नेपालको माटो सुहाउँदो बनाउन विशेष ध्यान दिएका छौं,‘ क्विङले भनिन्।
उनका अनुसार नामी भिगो नेपालमा दोस्रो ठूलो चिनियाँ ईभी ब्राण्डको रूपमा स्थापित भइसकेको छ र यसका २ हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन्। एमएडब्लुले ग्राहकको आवश्यकता र क्रयशक्तिलाई ध्यानमा राख्दै प्रविधि, सुरक्षा र विलासिताको मिश्रणको रूपमा भिगो ई–२ लाई प्रस्तुत गरेको छ।
नामी भिगो एसयूभी ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ। यसको रेन्ज क्रमश: ३०० र ३५० किलोमिटर रहेको छ।
यसले १६७ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ। भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिने, वान टच रियर सिट फोल्ड र अगाडिका दुई सिट बेडकै रूपमा तयार गर्न सकिने, ३६० डिग्री क्यामेरा, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम जस्ता विशेषता यसमा रहेका छन्।
बाहिर पनि स्पिकर रहेको यो गाडीमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेका छन्।


