काठमाडौँ । चालू आर्थिक वर्ष सुरु भएको ३४ दिनमा सरकारले एक खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ। बुधबारसम्म सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५, अन्तशुल्कतर्फ १५.४६ र आयकर २२.१७ प्रतिशत संकलन भएको छ।
यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ र अन्यतर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ।
सरकारले चालू आर्थिक वर्ष २०८३/०८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मिसन १६ खर्ब नाम दिएका छन्।
राजस्व चुहावट रोकेर ुमिसन मोडमा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उनले निर्देशन दिँदै आएका छन्।
गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा ३ खर्ब ३१ अर्ब रुपैयाँ बढी हो।
