काठमाडौँः मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोड रुपैयाँको लगानीमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालनमा आएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगले राइस ब्रान (धानको भुसबाट उत्पादित) खाने तेल उत्पादन सुरु गरेको हो।
उद्योगका प्रबन्धक ओमशङ्कर उपाध्यायका अनुसार उद्योगमा हाल ८० जनाले रोजगारी पाएका छन्। उद्योगले वार्षिक ४ हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ। उनका अनुसार राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक हो।
उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ। “मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” प्रबन्धक उपाध्यायले भने।
उद्योगले हाल प्रतिलिटर ३६५ रुपैयाँमा तेल बिक्री गरिरहेको जनाएको छ।
मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग सञ्चालनमा आएसँगै स्थानीयले रोजगारी पाएको बताए। स्थानीयस्तरमा उद्योग स्थापना हुँदा रोजगारीका अवसर सिर्जना हुनुका साथै आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने उनको भनाइ छ।