काठमाडौं। गत आर्थिक वर्ष विदेशी विनिमय सञ्चिती ४५.६ प्रतिशत बढेको छ।
गत असारसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिती पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँबराबर कुल विदेशी विनिमय सञ्चिति थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ असार मसान्तमा २९.८ प्रतिशत वृद्धि भई २५ अर्ब ३१ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८३ असार मसान्तमा ४३.८ प्रतिशत वृद्धि भई ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाा पुगेको छ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८३ असार मसान्तमा ६१.४ प्रतिशत वद्धि भई ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ।
२०८३ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२/०८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। २०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६३.८, १६३.४ र ४३.८ प्रतिशत रहेका छन्।