काठमाडौँ: भुकटीमण्डपमा मंगलबारदेखि जारी १८औँ संस्करणको नाडा अटो शो २०२६ मा बीवाईडीले तीनवटा नयाँ तथा अपग्रेडेड नयाँ मोडल सार्वजनिक गरेको छ।
कम्पनीले सेलिएनलाई अपग्रेडसहित पुनः बजारमा ल्याएको छ भने एटीटुको सुपेरियर भेरियन्ट र सार्क ६ प्लग–इन हाइब्रिड पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार सीलायन ७ मा मुख्य रूपमा मोटर पावरमा ठूलो सुधार गरिएको छ। यसअघि १०० किलोवाटको मोटर रहेकोमा नयाँ संस्करणमा १७० किलोवाटको मोटर प्रयोग गरिएको कम्पनीका प्रतिनिधि अंकित दाहालले जानकारी दिए।
उनले भने, ‘तीनवटा एकदमै एक्साइटिङ प्रोडक्टहरू अनभिल गरेका छौँ। सो सुरुमा कुरा गर्नु पर्दाखेरि हाम्रो यो बीवाईडी सीलायन ७ को विषयमा कुरा गरौँ। बीवाईडी सीलायन ७ हामीले नेप्लिज मार्केटमा पहिला पनि इन्ट्रोड्युस गरेका थियौँ, पहिला पनि लन्च गरेका थियौँ र अहिले यसलाई अलिकति रिभाइभ गरेर, हामीले अपग्रेड्सहरू गरेर फेरि रिलन्च गरेका छौँ। यसमा मोटर पावरको एकदमै अपग्रेड भएको छ। पहिला १०० किलोवाटको मोटर आउँथ्यो भने अहिले १७० किलोवाटको मोटर आउने हुन्छ। ’
नाडा अटो शोमा यसको प्रारम्भिक मूल्य ९२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यस्तै एटी २ को सपेरियर भेरियन्ट पनि सार्वजनिक गरिएको छ। केही दिनअघि आयोजित नाइमा मोबिलीटी एक्स्पोमा एटी २ को इसेन्सियल भेरियन्ट सार्वजनिक गरिएको थियो। नयाँ सुपेरियर भेरियन्टमा प्यानोरामिक ग्लास टप तथा सनरुफजस्ता थप प्रिमियम फिचर्स उपलब्ध छन्। उनले यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यस्तै बीवाईडीले आफ्नो नयाँ सार्क ६ लाई पनि नेपाली बजारमा सार्वजनिक गरेकोछ। दाहालका अनुसार अनुसार अन्य बीवाईडी मोडलहरूभन्दा फरक सार्क प्लग इन हाइब्रीड भेहिकल प्रविधिमा आधारित छ। यसमा ठूलो ब्याट्री, विद्युतीय मोटर र बीवाईडीको १.५ लिटर टर्बो इन्जिनको संयोजन रहेको छ।
सार्क ६ लाई विशेषगरी अफरोड क्षमताका लागि लक्षित गरिएको छ।


