काठमाडौँः रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनःस्थापना आवश्यक रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा उक्त सहयोग घोषणा गरेको हो।
यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति एनसेलले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता तथा प्रभावित नागरिकको शीघ्र उद्धार र प्रभावकारी राहत व्यवस्थापनको कामना गरेको छ।
एनसेलले विपद्को यस कठिन समयमा प्रभावित समुदायलाई सञ्चार सेवामार्फत समेत सहयोग गर्दै आएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई बुधबारदेखि लागू हुने गरी तीन दिनसम्म भ्वाइस तथा डेटा सेवा र १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराइएको छ।
यस पहलले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको एनसेलले जनाएको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “विपद्को यस कठिन घडीमा प्रभावित जनताको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो। उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले रु। १ करोड सहयोग गर्ने निर्णय गरेका हौँ। यस विषम परिस्थितिमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौँ।”
एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग तथा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।