काठमाडौं। नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को दोस्रो वार्षिक साधारणसभा आइतबार राजधानीमा सम्पन्न भएको छ।
चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकलाई पनि सभाले अनुमोदन गरेको छ।
सभाले गएको आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। यसैसँगै बोनस सेयरमा लाग्ने करका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि पास भएको छ।
कम्पनीको उद्देश्यसँग मेल खाने अन्य कम्पनी गाभ्ने वा किन्ने अधिकार सञ्चालक समितिलाई नै दिने निर्णय पनि सभाले गरेको छ।
साथै, प्रबन्धपत्रमा थप व्यवस्था राख्ने प्रस्ताव पारित गर्दै एनडीपीले अब परिवर्तनीय डिबेञ्चर, प्राथमिकता प्राप्त सेयर र विदेशी लगानीकर्तालाई लक्षित वित्तीय उपकरण जारी गर्न सक्नेछ।
साथै ग्रिन क्लाइमेट फन्ड र ब्लेन्डेड फाइनान्सजस्ता अन्तर्राष्ट्रिय कोषबाट पनि सहयोग लिन सक्नेछ। जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि छुट्याउने व्यवस्था पनि सभाले स्वीकृत गरेको छ।
भविष्यमा नियामक निकायले यी संशोधनमा सुधार गर्न भन्यो भने त्यो जिम्मेवारी पनि सञ्चालक समितिले नै पूरा गर्नेछ।