काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मानिसहरू फसेको आशंका गरिएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि फेला परेका छैनन्।
नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी ड्रोनको सहायतामा खोजी गरेको भए पनि त्यहाँ कुनै व्यक्ति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बाढी आएपछि उक्त सुरुङमा केही मानिस फसेको हुन सक्ने आशंका गरिएको थियो। सोही आशंकाका आधारमा नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र खोजी अभियान सञ्चालन गरेको थियो।
झन्डै २५० मिटर लामो सुरुङमध्ये उद्धार टोली करिब २२५ मिटरसम्म भित्र पुगेको बताइएको छ। खोजीका क्रममा सुरुङभित्र ड्रोनसमेत प्रयोग गरिएको थियो।
तर सुरुङभित्र कोही पनि नभेटिएपछि उद्धार टोली फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गत बुधवार बिहान आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना प्रभावित भएको थियो। बाढीपछि सुरुङभित्र मानिस फसेको हुन सक्ने आशंकाले खोजी अभियान सञ्चालन गरिएको थियो।