काठमाडौं। बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा १०० को हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर वा गाडी सम्पर्कविहीन छन्।
महासंघले विभिन्न कम्पनी, प्रालि, संघ तथा समितिबाट क्षतिको विवरण संकलन गरिरहे पनि विपद्का कारण टेलिफोन तथा इन्टरनेट सम्पर्क प्रभावित भएकाले यकिन तथ्यांक प्राप्त हुन नसकेको जनाएको छ। गिरीका अनुसार आगामी दिनमा थप विवरण प्राप्त हुने क्रम जारी छ।
उनका अनुसार रसुवागढी नाका आसपासमा रहेका कन्टेनरमा समेत ठूलो क्षति भएको छ। करिब ३०० कन्टेनर सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी महासंघले पाएको छ।
तर भन्सार क्षेत्रमा रहेका, बाटोमा गुडिरहेका, पार्किङ गरिएका तथा सामान ओसारपसारका क्रममा रहेका सवारीसाधनसमेतलाई समेट्दा क्षतिको संख्या ५०० हाराहारी पुग्न सक्ने महासंघको अनुमान छ।
प्रभावित स्थलबाटै नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘हालसम्मको प्रारम्भिक विवरणअनुसार १०० हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० टिपर सम्पर्कविहीन छन्। रसुवागढी नाका आसपासका करिब ३०० कन्टेनरसमेत सम्पर्कविहीन रहेको जानकारी आएको छ। विपद्का कारण सम्पर्क स्थापित हुन नसकेकाले यकिन तथ्यांक आउन बाँकी छ, थप विवरण संकलन भइरहेको छ।’
विपद्का कारण सवारीसाधनसँगै चालक, परिचालक, मजदुर र व्यवसायीसमेत सम्पर्कविहीन भएको गिरीले बताए। महासंघको प्रारम्भिक तथ्यांकअनुसार करिब ५०० चालक, परिचालक तथा सवारी व्यवसायसँग आबद्ध व्यक्ति सम्पर्कविहीन अवस्थामा रहेको उनको भनाइ छ।
उनले भने, ‘हाम्रा मजदुर चालकहरू करिब–करिब हामीले हाम्रो तथ्यांकमा चाहिँ हेर्दाखेरि करिब ५०० को हाराहारीमा चालक मजदुरहरू, परिचालक र गाडीमा आबद्ध व्यवसायीहरू सम्पर्कविहीन अवस्थामा छन्।’
रसुवा–नुवाकोट क्षेत्रमा बढी क्षति
गिरीका अनुसार रसुवागढी नाकाबाट त्रिशूली हुँदै बेत्रावती, त्रिशूली बजार र देवीघाटसम्मको क्षेत्रमा सवारीसाधनमा ठूलो क्षति पुगेको छ। विशेषगरी बेत्रावती, त्रिशूली र रसुवा नाकातर्फ नदी तथा खोलाको किनारमा रहेका सवारीसाधन बाढीको चपेटामा परेका छन्। देवीघाटभन्दा तल भने तुलनात्मक रूपमा कम क्षति भएको उनले बताए।
‘रसुवा नाका जो छ, त्यहाँदेखिबाट बेत्रावती, त्रिशूली बजार र देवीघाटसम्मको क्षेत्रमा सवारीसाधनमा ठूलो क्षति पुगेको छ। देवीघाटभन्दा तल चाहिँ सवारी साधनहरूको थोरै मात्रामा क्षति भएको छ। त्योभन्दा माथि नै देवीघाट, त्रिशूली, बेत्रावती र रसुवा नाकाबाट जो खोलाको किनारमा भएका बाटोमा धेरै क्षति भएको हामीले देख्न सक्छौँ,’ गिरीले भने।
रसुवागढी नाकामा चीनबाट सामान ल्याउने कन्टेनरको संख्या ठूलो रहेकाले त्यहाँ भएको क्षतिको वास्तविक विवरण संकलन गर्न समय लाग्ने उनको भनाइ छ। कन्टेनरसँगै त्यसका चालक, मजदुर तथा व्यवसायीको अवस्थासमेत यकिन हुन बाँकी रहेको उनले बताए।
उद्धारलाई पहिलो प्राथमिकता, त्यसपछि सवारीको तथ्यांक
राज्यका विभिन्न निकायसँग महासंघले सवारीसाधनको विवरण संकलनका लागि समन्वय गरिरहेको जनाएको छ। नुवाकोटमा भएको सर्वदलीय बैठकमा समेत महासंघका प्रतिनिधिले सवारीसाधन, मजदुर र व्यवसायीको क्षतिको विवरण संकलन तथा खोजीलाई प्रभावकारी बनाउन आग्रह गरेका थिए।
गिरीका अनुसार सीमा तथा विभिन्न स्थानमा रहेका ट्राफिक र प्रहरी चेकपोस्टबाट सवारी आवागमनको विवरण संकलन गर्ने प्रयास भइरहेको छ।
तर राज्यको पहिलो प्राथमिकता सवारीसाधनभन्दा मानिसको उद्धार र राहत भएकाले सवारीसाधनको यकिन तथ्यांक संकलनमा केही समय लाग्ने उनले बताए।
‘पहिलो प्राथमिकता उद्धार हो, त्यसपछि राहत र त्यसपछि सवारीसाधनको खोज तथा तथ्यांक संकलन हुन्छ,’ गिरीले भने।
सडकमार्ग अझै जोखिमपूर्ण
बाढीपहिरोका कारण रसुवा–नुवाकोट सडकखण्डका विभिन्न स्थानमा यातायात अवरुद्ध भए पनि स्थानीय तह तथा सम्बन्धित निकायले जेसिबी र अन्य उपकरण प्रयोग गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइरहेका छन्।
गिरीका अनुसार गल्छीबाट धादिङ हुँदै नुवाकोट पुग्ने क्रममा सडकका विभिन्न खण्डमा निकै कठिन अवस्था देखिएको छ। कतिपय स्थानमा साना तथा ढुवानीका सवारीसाधन चल्न सक्ने गरी अस्थायी र कच्ची बाटो सञ्चालन गरिएको छ।
रसुवाको कालिकास्थानसम्म भने बस तथा ट्रकसहितका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताए। तर, कालिकास्थानभन्दा माथि यातायात पूर्ण रूपमा प्रभावित छ।
त्यस क्षेत्रमा फसेका यात्रु तथा स्थानीयलाई उद्धार गरी कालिकास्थानसम्म ल्याउने र त्यहाँबाट सूर्यगढी गाउँपालिकाको सीमासम्म पैदल पुर्याउने काम भइरहेको उनले बताए। त्यसपछि महासंघले सवारीसाधनको व्यवस्था गरी उनीहरूलाई काठमाडौं तथा विदुरसम्म पुर्याइरहेको छ।
विपद् व्यवस्थापनमा राज्यको पूर्वतयारी कमजोर
गिरीले विपद्का बेला उद्धार तथा राहतका लागि आवश्यक उपकरण, प्रविधि र दक्ष जनशक्तिको अभाव देखिएको भन्दै सरकारको विपद् पूर्वतयारीमाथि प्रश्न उठाएका छन्।
उनका अनुसार कतिपय सुरुङमार्ग तथा जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत विपद्का कारण प्रभावित भएका छन्। दुर्गम क्षेत्रमा उद्धार उपकरण तथा प्रविधिको पहुँच नहुँदा फसेका व्यक्तिको यकिन अवस्था पत्ता लगाउनसमेत कठिन भइरहेको उनले बताए।
उद्धारमा यातायात व्यवसायीको सक्रियता
बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले उद्धार तथा राहतमा सहयोग गरिरहेको गिरीले बताए।
महासंघले प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि सवारीसाधन उपलब्ध गराउनुका साथै यात्रुलाई निःशुल्क बस सेवा समेत सञ्चालन गरिरहेको जनाएको छ।
विदुर नगरपालिका, सूर्यगढी गाउँपालिका तथा नुवाकोटका विभिन्न क्षेत्रबाट यात्रुलाई काठमाडौंसम्म पुर्याउने काम भइरहेको गिरीले बताए।